बागमती प्रदेशका १३ वटै जिल्लामा भेडा बाख्रामा लाग्ने पिपिआर रोग बिरुद्धको खोप लगाइदै छ । यही माघ २५ गते देखि फागुन २ गते सम्म प्रदेशका १३ वटा जिल्लाका एक सय १९ वटै स्थानीय तहमा भेडा बाख्रामा पिपिआर रोग बिरुद्धको खोप लगाउन लागिएको हो । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पत्रकारहरुलाई जानकारी दिदै भेडा, बाख्रामा लाग्ने हैजा बिरुद्धको खोप लगाउन लागिएको जानकारी गराएको हो ।

प्रदेशका १३ वटा जिल्लाको एक हजार एक सय ३७ वटा खोप केन्द्र मार्फत ४ सय ६० जना भ्याक्शिनेटर मार्फत खोप लगाउन लागिएको मन्त्रालयका योजना तथा अनुगमन महाशाखाका प्रमुख तथा प्रबक्ता राजन ढकालले जानकारी दिए । मन्त्रालयले प्रदेश भित्रका सबै स्थानीय तहका भेडा बाख्राहरुमा पिपिआर रोग नियन्त्रण तथा रोकथामको लागि एक हप्ते पिपिआर खोप लगाउने अभियान सुरु गर्न लागेको हो । यो अभियानबाट यस प्रदेशमा किसानले पालेका बाख्रा तथा भेडामा पिपिआर खोप लगाइने उनले बताए । यस प्रदेशमा भेडा र बाख्राको सख्या २४ लाख ४४ हजार ८ सय ५६ वटा रहेको प्रबक्ता ढकालले जानकारी दिए ।

नेपालमै पहिलो पटक खोप अभियान गरिएकोे बताउदैं ढकालले एक हप्ता सबै स्थानीय तहहरुमा खोप केन्द्र र भ्याक्सिनेटर तयारी अवस्थामा रहेको बताउनुभयो । प्रदेशमा भेडाको संख्या ९३ हजार ६३९ र बाख्राको संख्या २३ लाख ५१ हजार २१७ रहेको जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी