मकवानपुरमा संस्थागत सुत्केरी हुने संख्या सबैभन्दा राम्रो थाहा नगरपालिका र मनहरी गाउँपालिकामा रहेको पाइएको छ । पालिकास्थित स्वास्थ्य संस्थामा दर्ता भएको अभिलेख अनुसार संस्थागत सुत्केरी सबैभन्दा कम रहेको पालिका कैलाश गाउँपालिका रहेको छ ।
अभिलेख अनुसार घरमा सुत्केरी हुनेमा सबैभन्दा बढी कैलाश गाउँपालिकामा ३९ जना रहेका छन् । ‘थाहा नगरपालिका र मनहरी गाउँपालिकामा शून्य छ’ स्वासथ्य कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले भने । गत आर्थिक वर्ष २०८०/०८१ मा बागमती गाउँपालिका एक तथा इन्द्रसरोवर र मकवानपुरगढी गाउँपालिकामा दुई÷दुई जना घरमा सुत्केरी भएको स्वास्थ्य संस्थामा दर्ता भएको अभिलेख छ । गत आवमा मकवानपुरमा स्वास्थ्य संस्थामा सुत्केरी गराउनेभन्दा घरमा सुत्केरी हुने प्रतिशत बढी छ ।
संस्थागत सुत्केरी गराउनेमा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकामा तीन हजार ३९१ र सबैभन्दा कम इन्द्रसरोवरमा ५५ जना रहेका थिए । मकवानपुरमा संस्थागत सुत्केरी गराउनेको संख्या २० वर्षमुनिका ५ सय २१ र २० वर्षमाथिका ४ हजार ३ सय ९८ गरी चार हजार ९१९ जना थियो । यस्तै २० वर्षमुनिका २३ र २० वर्षमाथिका १ सय १८ गरी १ सय ४१ जना घरमा सुत्केरी भएको तथ्याङ्कले देखाएको छ । जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा स्वास्थ्य संस्थामा १०.६ प्रतिशत सुत्केरी भएकोमा घरमा १६.३ प्रतिशत सुत्केरी हुने रहेका थिए ।
जिल्लाको १० वटा पालिका रहेको मकवानपुर जिल्लामा ५३ वटा बर्थिङ सेन्टर छन् । सबैभन्दा बढी बर्थिङ सेन्टर थाहा नगरपालिकामा १२ र बकैया गाउँपालिकामा नौ वटा छन् । हेटौँडा उपमहानगर क्षेत्रमा हेटौँडा अस्पताल बाहेक दुई स्थानमा, इन्द्रसरोवर गाउँपालिका, बागमती गाउँपालिका र राक्सिराङ गाउँपालिकामा चार/चार स्थानमा, कैलाश गाउँपालिका, मकवानपुरगढी गाउँपालिका र भीमफेदी गाउँपालिकामा पाँच÷पाँच स्थानमा तथा मनहरी गाउँपालिकामा तीन स्थानमा बर्थिङ सेन्टरबाट संस्थागत सुत्केरी गराउने गरिएको जनस्वास्थ्य कार्यालय, मकवानपुरले जनाएको छ ।
मकवानपुर जिल्लामा गत आर्थिक वर्ष २०८०/८१ मा मातृ मृत्यु शून्य रहेको जनस्वास्थ्य कार्यालय, मकवानपुरले जनाएको छ । सूचना अधिकारी घिमिरेले जिल्लास्थित स्वास्थ्य संस्थामा दर्ता भएको अभिलेख अनुसार मकवानपुरमा गत आवमा मातृ मृत्यु शून्य र नवजात शिशु ११ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्