स्याङ्जाकाे वालिङ नगरपालिका

स्याङ्जाको वालिङ नगरपालिकाले आप्रवासीको तथ्यांक संकलन गर्ने भएको छ । नगरपालिकाको आयोजनामा सुरक्षित आप्रवासन परियोजना (सामी), हेल्भेटास नेपाल र अन्धाअन्धी सामुदायिक विकास केन्द्रको सहयोगमा गणकलाई तालिम दिई बुधबारदेखि परिचालन गरिएको हो । वालिङ नगरभित्रका नागरिक वैदेशिक रोजगारीमा गएका वा गएर फर्केकाको तथ्यांक संकलन गर्ने, उनीहरूको सीप, योग्यतालगायत विवरण संकलन गरिने नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । ‘वालिङका नागरिक वैदेशिक रोजगारीमा कति छन्, कति फर्किए, उनीहरूसित के–कस्तो सीप छ वा बेरोजगार छन्, यी सबै विवरण गणकले घरघरमै पुगेर संकलन गर्नेछन्’, उनले भने, ‘इच्छुकको नामावली, सीप, क्षमता, योग्यतालाई रोजगार पोर्टल निर्माण गरी राख्ने योजना छ ।’

रोजगार पोर्टलमा इच्छुकको नामावली राखेसँगै उद्योग तथा कलकारखानालाई आवश्यक पर्दा सहज रूपमा उपलब्ध गराउन सकिनेछ । ‘वैदेशिक रोजगारीबाट स्वदेश फर्केकाको सीप, क्षमताको विवरण रोजगार पोर्टलमा उल्लेख गरिन्छ’, उनले भने, ‘सोही पोर्टलमा उद्योग तथा कलकारखानालाई आवश्यक पर्ने जनशक्तिको विवरण राखिनेछ । कामदारले काम पाउने र उद्योगले कामदार पाउन सहज हुनेछ ।’ वालिङका कति नागरिक वैदेशिक रोजगारीमा छन्, कति फर्किएका छन्, फर्किएका वालिङका नागरिकको स्थिति के छ भन्ने बुझ्न १४ वटै वडामा गणक खटाइएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताए । ‘एक महिनासम्म १७ गणकले गाउँ–गाउँमा पुगेर विवरण संकलन गर्नेछन्’, उनले भने, ‘वैदेशिक रोजगारीमा गएका वा फर्केका यहाँका नागरिकको अवस्थाबारे यथार्थ जानकारी भएसँगै आगामी दिनमा नीति तथा कार्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याउन सहज हुनेछ ।’ कोभो एप्स प्रयोग गरेर गणकले डिजिटल प्रविधिबाट तथ्यांक संकलन गरिनेछ । वैदेशिक रोजगारीमा गएका नागरिकले पठाउने रेमिट्यान्स र घरपरिवारले त्यसको प्रयोग के काममा गरेका छन् भन्ने विवरणसमेत गणकले घर–घरमै पुगेर लिने भट्टराईले बताए ।

१७ गणकलाई दुईदिने तालिम दिएर बुधबारदेखि वडा–वडामा जिम्मेवारी दिएर पठाइएको सुरक्षित आप्रवासन परियोजना (सामी) स्याङ्जाका कार्यक्रम संयोजक एकनारायण सापकोटाले जानकारी दिए । यथार्थ र तथ्यपरक विवरण संकलनका लागि गणक घर–घरमा गए–नगएको एप्समार्फत नै निगरानी गरिने उनले बताए । ‘गणकले एप्स प्रयोग गरेर दुई प्रकारबाट विवरण संकलन गर्नेछन्’, सापकोटाले भने, ‘एउटा वैदेशिक रोजगारीमा गएर फिर्ता भएका व्यक्ति र अर्को वैदेशिक रोजगारीमा रहेकाको घरपरिवारबाट फरक–फरक विवरण संकलन हुनेछ ।’ गणकलाई वैदेशिक रोजगारीमा गएर फर्केका व्यक्ति र वैदेशिक रोजगारीमा रहेका व्यक्तिको परिवारलाई लक्षित गरेर विवरण संकलन गरी डिजिटल प्रविधिमार्फत भर्ने तरिका सिकाएर पठाइएको छ ।

पालिका प्रेस
थप जानकारी