मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले फिल्ड सहायक पदका लागि लिएको परीक्षामा कुनैपनि उमेद्वार उतीर्ण नभएको सुचना जारी गरेको छ । गाउँपालिकाले ९ असोजमा फिल्ड सहायकका उमेद्वारहरुको लिखित परीक्षा लिएकोमा कोही पनि उतीर्ण नभएको पालिकाले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।
गाउँपालिकाले फिल्ड सहायकका लागि २९ साउनमा सूचना प्रकाशन गरेको थियो । यद्यपी उसले ९ असोजमा प्रकाशित सूचनामा भने ३१ साउनमा प्रथम पटक दरखास्त आव्हान गरेको त्रुटिपूर्ण सूचना प्रकाशन गरेको छ । प्रमुख प्रशासकीय अधिकृत प्रलाद कार्कीले हस्ताक्षर गरेको ९ असोजको सूचनामा समेत त्रुटि भेटिएको हो ।
गाउँपालिकाको फेसबुक पेजमा प्रकाशित सूचना अनुसार फिल्ड सहायक पदका लागि २९ साउनमा सूचना सार्वजनिक भएको छ । यस अघि फिल्ड सहायक पदमा कार्यरत राजकुमार लामाले राजिनामा दिएपछि रिक्त भएको पदमा पालिकाले दरखास्त आव्हान गरेको हो । फिल्ड सहायक पद संघीय सरकार अन्तर्गत गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको स्वीकृत करार दरबन्दी हो । उक्त पदका लागि संघीय सरकारले नै तलब भत्ताको केही अंश सशर्त अनुदान मार्फत पालिकाहरुमा पठाउने गरेको छ ।
संघीय सरकारले वि.सं. २०७६ बाट नेपालका सबै स्थानीय तहमा सामाजिक सुरक्षा तथा पञ्जीकरणलाई व्यवस्थित गर्नका लागि सामाजिक सुरक्षा तथा व्यक्तिगत घटनादर्ता प्रणाली सुदृढिकरण आयोजना लागू गरेको थियो । हो, यहि परियोजना अन्तर्गत प्रत्येक पालिकामा जनसंख्या तथा भुगोलका आधारमा दरबन्दी निर्धारण गरी एमआइएस अपरेटर र फिल्ड सहायक कार्यरत छन् ।
पालिकाले गर्यो मापदण्ड विपरीत सूचना र परीक्षा
इन्द्रसरोवर गाउँपालिकाले २९ साउनमा सूचना प्रकाशित गरी फिल्ड सहायक दरखास्त आव्हानदेखि परीक्षासम्मको सबै क्रियाकलापमा त्रुटि भेटिएको छ । गाउँपालिकाले दरखास्त आव्हान गरेको फिल्ड सहायकको सूचनामै परीक्षाको किसीममा लिखित, कम्प्युटर सीप परीक्षण र अन्तवार्ता उल्लेख गरेको छ । यो सरासर संघीय सरकारको मापदण्ड विपरित छ ।
संघीय सरकारले जारी गरेको पालिकाहरुको सेवा इकाइको लागि जनशक्ति छनौंट सम्बन्धी मापदण्ड, २०७६ अनुसार फिल्ड सहायक छनोट गर्दा लिखित परीक्षा र कम्प्युटर सीप परीक्षण परीक्षा लिने कुनै पनि नियममा उल्लेख गरेको छैन । तर इन्द्रसरोबर यहि नियममै नभएको कुरामा अघि सरेको देखिन्छ । नेपाल सरकारबाट २०७६ साल साउन ८ गते स्वीकृत उक्त मापदण्डमा फिल्ड सहायक छनोट गर्दा सर्ट लिस्ट गर्ने सूचकहरु तोकिएको छ । मापदण्डको अनुसूची ५ मा सर्टलिस्टको पूर्णाङ्क ७० तोकिएको छ । यसको उतीर्णाङ्क ३५ तोकिएको छ ।
त्यस्तै ३० पूर्णाङ्कको अन्तरवार्ता हुने मापदण्डको अनुसूची ५ मै उल्लेख गरिएको छ । यो सबै मापदण्ड विपरित पालिकाले दरखास्त आव्हानको सूचना प्रकाशन र परीक्षा संचालन गरेको छ । र, ९ असोजमा सूचना निकाल्दै कोही उतीर्ण नभएको जानकारी गराएको छ ।
मापदण्ड अनुसार सर्टलिस्टमा आएकाहरुलाई प्रमुख प्रशासकीय अधिकृत संयोजक रहेको अन्तवार्ता समितिले अन्तवार्ता लिने मापदण्डको नियम ९ मा उल्लेख छ । समितिमा जिल्ला प्रशासन कार्यालयको अधिकृतस्तरको कर्मचारी र स्थानीय तहको सूचना प्रविधि अधिकृत वा संयोजकले तोकेको सूचना प्रविधि सम्बन्धी दक्षता भएको व्यक्ति रहने व्यवस्था छ । सो मापदण्डमा फिल्ड सहायकको कार्यविवरण र जिम्मेवारी समेत तोकिएको छ ।
मापदण्ड विपरित लिखित परीक्षामा अफिसरलाई जस्तो प्रश्न
फिल्ड सहायक छनोटका लागि ९ असोजमा लिइएको १ घण्टाको लिखित परीक्षामा चौथो तहको फिल्ड सहायकका उमेद्वारलाई अफिसरलाई झै प्रश्न सोधिएको छ । परीक्षामा ५ पूर्णाङ्कका ६ वटा प्रश्न सोधिएको छ ।
उमेद्वारहरुलाई नेपालको संविधान, न्यायिक समिति सम्बन्धी, सूचनाको हक, निजामती सेवा ऐन जस्ता असान्दर्भिक प्रश्नहरु बढि सोधिएको थियो । यि ६ वटै प्रश्नपत्रको जवाफ दिन नसकेर दरखास्त दिएका चारै जना अनुतीर्ण भएको पालिकाले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।
सरुवा भैसकेका प्रशासकीय अधिकृतको ध्यान परीक्षामा
इन्द्रसरोवर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको ३१ भाद्रमै सरुवा भैसकेको छ । उनी भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गत सरुवा भैसकेका छन् ।
उनले सरुवा भएको एक सातासम्म पनि रमाना लिएका छैनन् । कार्कीलाई निजामती सेवा ऐन अनुसार नै सरुवा गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । तर कार्की अझै रमानातर्फ आकर्षित देखिएका छैनन् ।
इन्द्रसरोवर गाउँपालिकाको सूचनाहरुः
प्रतिक्रिया दिनुहोस्