मकवानपुर थाहा नगरपालिकाको ऐतिहासिक पालुङ शहरको दशै घर भत्किएपछि स्थानीयहरुले वडा कार्यालयमै जमरा राखेका छन् । उनीहरुले १७ असोजको शुभ साइतमा थाहा नगरपालिका वडा नम्बर २ को कार्यालयमा जमरा राखेका हुन् ।
वि.सं. २०७२ सालको भुकम्पले भत्किएको उक्त दशै घर जीर्णद्वार हुन नसक्दा भत्किएको इन्द्रायणी भगवती कालाभैरब गुठी संरक्षण समिति पालुङका अध्यक्ष श्यमभक्त श्रेष्ठले जानकारी दिए । ‘दशै घर पुर्ननिर्माणका लागि वडा, नगरपालिका, प्रदेश सरकार धेरैलाई गुहा¥यौ, कतैबाट सहयोग भएन अन्नतः जमरा समेत राख्न सक्ने अवस्था भएन’–अध्यक्ष श्रेष्ठले भने– संस्कृति जोगाउनका लागि वडासंगको समन्वयमा कार्यालयमै आज जमरा राख्यौं ।’ स्थानीय संस्कृति र सम्पदा संरक्षणमा स्थानीय सरकारले ध्यान दिनूपर्ने स्थानीय निरोज प्रधानले बताए । पालुङमै बागमती प्रदेश सरकारले पुर्ननिर्माण गरेको फल्चामा पनि छानाको अभावमा प्लाष्टिक लगाइएको छ ।
पालुङमा राज्यको संरचना हुँदा सो दशै घरमा जमरा राख्ने, फुलपाती भित्र्याउने लगायतको कार्य गर्ने प्रचलन रहेको थियो । पालुङको दशै घरमा अहिले पनि फुलपाती भित्र्याउनका लागि स्थानीय सरकार प्रमुखहरु पुग्ने परम्परा अझै छ भने दशैको टिको दिन सरकार प्रमुखले अन्य स्थानीयहरुलाई टिका र जमरा लगाउने चलन छ ।
यसपालि पनि दशै घर परिसरमा २४ गते फुलपाती भित्र्याउने, २५गते नवमी पुजा गर्ने र २६ गते टिका लगाउने तालिका प्रकाशन गरिसकिएको इन्द्रायणी भगवती कालाभैरब गुठी संरक्षण समितिका सचिव मधुकर विक्रम श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्