मकवानपुरको मनहरी गाउँपालिकाले विपन्न परिवारको सदस्य मृत्यु हुँदा काजकिरियाका लागि आर्थिक सहयोग उपलब्ध गराउन थालेको छ । परिवारका सदस्यको निधनपश्चात् काजकिरिया गर्नका लागि आर्थिक समस्या झेल्दै आएका विपन्न परिवारलाई पालिकाकाले आर्थिक सहयोग उपलब्ध गराउन सुरु गरेको हो ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै समावेश गरी मृतकको घरमै पुगेर काजकिरिया गर्नका लागि पालिकाकाले रकम उपलब्ध गराउन थालेको छ । हालसम्म चालु आवमा १६ परिवारलाई काजकिरिया बापतको रकम सहयोग गरिएको पालिकाले जनाएको छ । प्रत्येक विपन्न परिवारलाई २० हजार रुपैयाँसहित श्रद्धाञ्जलीपत्र हस्तान्तरण गर्ने गरिएको छ ।

वडा कार्यालयले विपन्नको सिफारिस गरेपछि गाउँपालिका कार्यालयल काजकिरिया गर्न २० हजार रुपैयाँ नगद उपलब्ध गराउने गरेको हो । आर्थिक अभावकै कारण काजकिरिया रोकिने अवस्थाका परिवार पनि रहेको र विपन्न परिवारको दुःखमा सहयोग गरेको पालिका अध्यक्ष रञ्जन कालाखेतीले भने । कार्यपालिकाको बैठकले निर्णय गरेरै विपन्न परिवारको काजकिरियाका लागि सहयोग उपलब्ध गराउन थालिएको जानकारी दिए । पालिका अध्यक्ष कालाखेती, उपाध्यक्ष सीता पुलामी मगर, सम्बन्धित वडाध्यक्षसहितका जनप्रतिनिधि विपन्नको घरमै पुगेर नगद सहयोग गर्दै समवेदना व्यक्त गर्ने गरेका छन् ।

गाउँपालिकाले विपद्मा परेर ज्यान गुमाएकाको परिवारलाई पनि नगद ५० हजार रुपैयाँ सहयोग गर्दै आएको छ । विपद्मा ज्यान गुमाएकाको परिवारलाई ५० हजार रुपैयाँ कार्यपालिकाले निर्णय गरेरै सहयोग गर्न सुरु गरेको हो । यस आर्थिक वर्षको हालसम्मको अवधिमा ५ परिवारलाई सहयोग गरिएको मनहरी गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र भट्टराईले जानकारी दिए । यस वर्षको विपद्मा परेर मनहरीका ५ जनाको मृत्यु भएको छ ।

पालिका प्रेस
थप जानकारी