नुवाकोटको पञ्चकन्या गाउँपालिका स्थानीय तहमा हुने विकास निर्माणका काममा महिलाको सहभागिता बढ्दै गएको छ ।
प्रायः जसो घरको काममा मात्रै सीमित रहने यस क्षेत्रका महिला अहिले भने विकास निर्माणमा सहभागी हुन थालेका छन् । अझै पनि महिलाले विकास निर्माणका काम गर्न सक्दैनन् भन्ने मानसिकताका कारण उनीहरु काममा खुलेर आउँदैनन् ।
पछिल्लो समय प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत हुने विकास निर्माणका काममा पुरुषभन्दा महिला अब्बल हुन थालेका छन् । महिलाहरू पर्यटन क्षेत्रमा जोडिएको घ्याङस्वरा पर्यटकीय पार्क र भुमे थान मन्दिर जाने सिढी निर्माणमा सहभागी हुन थालेका छन् । बिहान घरको काम सकेर दिनभर विकास निर्माणमा सहभागी हुँदा महिलालाई ज्ञान र सीपका साथै आर्थिक उपलब्धि समेत हुने गरेको पाइन्छ ।
पञ्चकन्या गाउँपालिका–४ का सोनाली लामा लाई विगतका दिनमा चुलोचौकामै दिन बित्थ्यो । गाउँमा विकास निर्माणका काम त हुन्थ्यो, तर महिला जान पाउँदैनथे । आजभोलि बिहानै सबेरै उठेर चुलोचौको सकेर दिउँसोको खाजा बोकी विकास निर्माणको काममा लामाको दैनिकी हो । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गाउँमा विकास निर्माणको काम हुन थालेपछि यहाँका महिलाको दैनिकी फेरिएको हो ।
उनी भन्छिन्, ‘सिँढी निर्माणको लागि आवश्यक सामग्री र अन्य शिप अनुसारको काम गरिरहेका छौँ । पुरुषको भन्दा छिटो गरिरहेका छौँ ।’ विकास निमार्णका सहभागी हुँदा ज्ञान र सीपका साथै ज्याला पाउँदा निकै खुसी लागेको लामाको भनाइ छ । उनीजस्तै पञ्चकन्याका गाउँपालिका वडा ४ का ५० जना महिला प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत विकास निर्माणमा प्रत्यक्ष काम गर्दै आएका छन् ।
पञ्चकन्या गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आवेदनमा परेकामध्ये १०२ जना रोजगारीका लागि छनोटमा परेका छन् । तीमध्ये ६३ महिला रहेको पञ्चकन्या गाउँपालिका प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक सरोज कुमार खातीले बताए ।
नुवाकोको १२ स्थानीय तहमा ५०० भन्दा बढि महिला अहिले बाटो निर्माण, सिँचाइ, कुलो मर्मतमा सक्रियरूपमा दैनिक काम गर्न आएका छन् । पञ्चकन्या गाउँपालिकामा काम गरिरहेको श्रमिकले रू. ५७७ का दरले दैनिक ज्यालामा सय दिनका लागि प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगार पाइरहेको पञ्चकन्या गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्ट बताए ।
पञ्चकन्या गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम गाउँपालिकाको अमानतमा गर्ने गरी ७ ओटा आयोजना सञ्चालनमा आएको र यसको रेखदेख हेरचार गाउँपालिका कै कर्मचारी ले गर्दै र कतिपय आयोजना सम्पन्न भई ज्याला समेत भुक्तानी गरी सकेको पञ्चकन्या गाउँपालिका अध्यक्ष तेज बहादुर तामाङले जानकारी दिए ।
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत निर्माण कार्यमा महिलाको सहभागिता हुन पाउँदा खुशी लागेको पञ्चकन्या गाउँपालिका–४ का हले बताइन् । विगतमा पुरुषमात्र निर्माण कार्यमा जाने, महिला घरकै काममा दिन बिताउने गरेकामा पछिल्लो समय महिलाले विस्तारै स्वरोजगार बन्दै गएको पञ्चकन्या गाउँपालिका प्राविधीक सहायक कपिल शाहले बताए ।

















































पालिका प्रेस 











प्रतिक्रिया दिनुहोस्