मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिका संभावनायुक्त पालिका भएको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बताएका छन् । कृषि तथा धार्मिक पर्यटनका क्षेत्रमा नगरको योजनावद्ध विकास गर्नुपर्ने मुख्यमन्त्री लामाको धारणा रहेको थियो ।
गोरख संवत् २८१८ को अवसरमा ११ मंसिरमा थाहानगरको ३ नम्बर वडामा रहेको गोरखनाथ मन्दिर परिसरमा गोरखनाथ कल्याण केन्द्रले आयोजना गरेको माता पाथीभरा मुर्तिको अनावरण तथा शुभकामना आर्दान प्रदान कार्यक्रममा लामाले यस्तो बताएका हुन् । मुख्यमन्त्री लामाले गोरख संवत्को उपलक्ष्यमा सम्पुर्णलाई शुभकामना व्यक्त गरे । सो अवसरमा गोरखनाथ मन्दिरसम्म पुग्ने सडकको स्तरोन्नतिको लागि सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले भने–‘स्थानीय तह डिपिआरसहित प्रदेश सरकार समक्ष आउनुस् प्रसिद्ध धार्मिक क्षेत्रमा पुग्ने सडक र पाथिभरा मन्दिर जाने बाटो निर्माणको लागि सहयोग गर्छु ।’
मुख्य मन्त्री लामाले थाहा नगरपालिकालाई प्रदेशले हेर्ने दृष्टिकोण विशेष रहेको उल्लेख गर्दै धार्मिक तथा कृषि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्रदेश सरकार तत्पर रहेको धाराणा राखे । थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपालीले गोरखनाथ मन्दिरलाई थाहा नगरपालिकाको प्रमुख धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न विभिन्न तरिकाले प्रचारप्रसार गरिरहेको बताए । उपप्रमुख गोपालीले मन्दिरसम्म पुग्ने सडक पूर्वाधारका लागि बजेट व्यवस्थापन गरिदिन मुख्यमन्त्री लामासंग अनुरोध गरे ।
गोरखनाथ कल्याण केन्द्रका अध्यक्ष फणीप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा गोरखनाथ कल्याण केन्द्रका संरक्षक अनन्त प्रसाद खनाल, नेपाली काँग्रेस थाहानगर सभापति प्रमोदकृष्ण जोशी, वडा नम्बर ११ का वडा अध्यक्ष दिनेश बललगायतका आतिथ्यता रहेको थियो।
कार्यक्रमको अवसरमा गोरखनाथ कल्याण केन्द्रद्वारा पालुङमा निर्मित वायु मण्डलिय शक्तिपिठको निर्माणमा अतुलनीय योगदान दिएको भन्दै कल्याण केन्द्रले थाहानगरका युवा समाजसेवी तथा निर्माण व्यावसायी राजन ढकाल र शम्भु सिं कार्कीलाई सम्मान गरेको छ । सम्मानित द्वय ढकाल र कार्कीलाई प्रमुख अतिथी मुख्यमन्त्री लामाले दोसल्ला र सम्मानपत्र सहित सम्मानित गरेका हुन् ।
यसैबीच मुख्यमन्त्री लामाले ११ मंसिरमै नेपाली काँग्रेस थाहानगर समितिको पार्टी कार्यालय समेत उद्घाटन गरेका छन् । काँग्रेस नगर समितिको कार्यालय थाहा नगरपालिका वडा नम्बर ३ थाना बजारमा रहेको छ ।
फोटो फिचर:
प्रतिक्रिया दिनुहोस्