बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले बागमती प्रदेशमा ‘एक घर, एक धारा’ अभियान चलाएको बताएका छन् । यो अभियानअन्तर्गत अब यस प्रदेशमा खानेपानीमा सबैको पहुँच पुग्ने पनि उनले सुनाए । बागमती प्रदेश खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको आयोजनामा हेटौंडामा आयोजित दुईदिने खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी अभिमुखीकरण कार्यक्रमको १३ मंसिरमा उद्घाटन गर्दै मुख्यमन्त्री लामाले प्रदेशभित्र रहेका सबै पालिकाले खानेपानी, सरसफाइ तथा स्वच्छता योजना बनाउनु पर्ने बताएका हुन् ।

खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर पालिकाहरूले योजना छनोट गर्नुपर्ने उनको तर्क थियो । बागमती प्रदेशका १ सय १९ पालिकामध्ये २८ पालिकाले मात्र खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (वास प्लान) बनाउनु खुसीको कुरा नभएको पनि उनले सुनाए । यो संख्या धेरै नै बढाउनुपर्ने उनले बताए । उक्त कार्यक्रममा बागमती प्रदेश खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री श्याम खड्काले सबै पालिकाहरूले वास प्लान बनाउनका निम्ति यो अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताए । ‘खानेपानीका अधुरा योजना खानेपानी मन्त्रालयले पूर्णता दिनेछ,’ उनले भने ।

पालिकाहरूले अब योजना बनाउँदा व्यक्ति र दलको स्वार्थभन्दा माथि उठेर बनाउन पनि उनले आग्रह गरेका थिए । २ दिनसम्म संचालन हुने उक्त कार्यक्रमलाई प्रदेश नीति तथा योजना आयोगका अध्यक्ष गंगादत्त नेपाल, जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, प्रदेशका प्रमुख सचिव डा.हरिप्रसाद लम्साल, आरआरएनएका अध्यक्ष एवं अमेरिकाका पूर्वराजदूत डा. अर्जुन कार्की, खानेपानी उपभोक्ता महासंघ नेपालका अध्यक्ष राजेन्द्र अर्याल, खानेपानी मन्त्रालयका सचिव मोहन शाक्यलगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा डा. रजित ओझा र नवीन अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा बागमती प्रदेशका २२ पालिकाका प्रमुख, उपप्रमुख, प्रशाकीय अधिकृत र खानेपानीसम्बन्धी सरकारी एवं गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।

पालिका प्रेस
थप जानकारी