स्थानीय तहमा निर्वाचित भएका नगरका जनप्रतिनिधीहरुले तीन वर्षमा गरेका काम र आगामी दिनमा ध्यान दिनुपर्ने बिषयमा छलफल भएको छ । दुई दिन पर्यटकिय क्षेत्र सौराहमा भएका छलफलले दश बुँदे घोषणा पत्र जारी गरेको छ । कार्यक्रममा गएका आर्थिक वर्षको समीक्षा, चालु आर्थिक वर्षमा हालसम्मको समीक्षा गर्दै आगामी आर्थिक वर्षको कार्यादेश बारे छलफल गरेको थियो ।

२० र २१ पुरसमा गरिएको छलफलबाट १० बुँदामा निश्कर्ष निकालिएको हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अघिकृत सुर्यप्रसाद गौतमले बताए । छलफलमा प्रदेश सरकारसँग लागत सहभागितामा निर्माण गरिएको हेटौंडा–११, थानाभर्याङस्थित निर्माणाधिन फलफूल तथा तरकारीको थोक बजारमा प्रदेश सरकारको मन्त्रालय स्थापना गरिएको प्रति ध्यानाकर्षण गराइएको छ ।

कृषकका उपजको बजारीकरणका लागि निर्माण गरिएको संरचनामा मन्त्रालय स्थापना गर्नु उपयुक्त नभएको उल्लेख गर्दै निर्माण कार्य पूरा गरेर उपमहानगरपालिकामार्फत थोक बजार सञ्चालन गर्नुपर्ने निश्कर्ष निकालिएको छ । छलफलमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा बजार खण्डको सडक विस्तार, एक सय भन्दा कम संख्यामा विद्यार्थी भएका विद्यालयलाई नजिकैको विद्यालय गाभ्ने र गाभिने विद्यालयका विद्यार्थीलाई यातायातको सुविधासहित नजिकको विद्यालयमा समायोजन गर्ने, भुटनदेवी माध्यमिक विद्यालय र आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयलाई गाभेर ठूलो विद्यालय बनाउने, अति विपन्न थामी र चेपाङ समुदायका परिवारको निशूल्क स्वास्थ्य वीमा गरिदिने निर्णय भएको थियो ।

उपमहानगरपालिकाको हालसम्मको उपलब्धीका विषयमा प्रमुख प्रशासकीय अधिकृत गौतमले प्रस्तुती गरेका थिए । छलफलमा प्रदेश सरकारका योजना एकद्वार प्रणालीबाट कार्यान्वयन हुन नसक्दा समस्या भएको जनप्रतिनिधिको भनाइ रहेको थियो । छलफलमा गुणस्तरीय पूर्वाधार निर्माणको विषयले पनि प्रवेश पाएको र हेटौंडा उपमहानगरपालिकाको प्रमुख क्षेत्रको विद्युतीय लाइनलाई भूमिगत गर्न आवश्यक भएकोप्रति जनप्रतिनिधि सुझाव दिएको थियो ।

औपचारीक छफलका क्रममा जननिर्वाचित जनप्रतिनिधीहरुले १० बुँदे निर्णय गरेको उपमहानगरका प्रवक्ता सबिन न्यौपानेले बताए । उनले छलफलमा महिलामुखी सहर निर्माण, राजमार्ग २५ मिटर विस्तार गर्ने विषयमा छलफल भएको जानकारी दिए । नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएको समीक्षामा उपप्रमुख राजेश बानियाँलगायतकाको उपस्थिती थियो ।

पालिका प्रेस
थप जानकारी