थाहा नगरपालिकामा २ सय मेट्रिक टन रासायनिक मल आउने भएको छ । बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री प्रकाश श्रेष्ठको निर्देशनमा थाहा नगरपालिकाको लागि मलको कोटा छुट्याइएको हो ।
कृषि सामाग्री कम्पनी लिमिटेड हेटौंडामा मौज्दात रहेको १ सय ५० मेट्रिक टन युरिया र १ सय ५० मेट्रिक टन डि.ए.पी. मल मध्ये दुबै मल एक/एक सय मेट्रिक टनका दरले थाहाका लागि निर्णय भएको छ । मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद महेश कुमार बर्तौलाले २२ पुसमा थाहा नगरपालिकाका लागि मल सहज गरिदिन प्रदेश कृषि तथा पशुपंक्षी विकास मन्त्री श्रेष्ठलाई आग्रह गरेका थिए ।
एमाले थाहानगर अध्यक्ष सुरेन्द्रमान प्रधान, सचिव सुजन रायमाझी, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीसहितको टोलीसंग २२ पुसमा भएको भेटमा मन्त्री श्रेष्ठले कृषि सामग्री कम्पनी लिमिटेड हेटौंडाका प्रमुख प्रकाश चन्द्र ज्ञवालीलाई बोलाई थाहाको माग सम्बोधन गर्न निर्देशन दिएका थिए ।
‘मन्त्री श्रेष्ठले २३ पुसमा नै बैठक राखी थाहामा थप रासायनिक मलको कोटा पठाउने निर्णय गरिदिनू भयो त्यसकै आधारमा कोटा छुट्टियो’, एमाले थाहानगर अध्यक्ष प्रधानले भने–‘माग भएको बाँकी मल माघको पहिलो हप्ताभित्र उपलब्ध गराउने मन्त्रीज्यूले भन्नुभएको छ ।’ २३ पुसको निर्णय अनुसार इन्द्रसरोवर र मनहरी गाउँपालिकाले पनि ५०/५० मेट्रिक टन रासायनिक मल पाएको मकवानपुर–२ का सांसद बर्तौलाका स्वकीय सचिव आशिष अस्लामीले जानकारी दिए ।
थाहा नगरपालिकामा ७ सय हेक्टर क्षेत्रफलमा आलु खेतीका लागि ५ सयदेखि ६ सय टन डिएपी र ३ सय टन युरिया मलको आवश्यकता पर्ने कृषि विकास शाखा थाहा नगरपालिकाले जनाएको छ । शाखाका अनुसार पालिका क्षेत्रमा–करिव ७० हजार किलो बीउ आलु लगाउने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्