मकवानपुर थाहानगरमा क्रियाशील सामाजिक अभियान संस्था फरकसोचले स्थापना गरेको ‘थाहा पत्रकारिता सम्मान’ पत्रकार ममता थापाले पाएकी छिन् । मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ सोल्टूमा जन्मेर अनवरत रुपमा पत्रकारिता क्षेत्रमा क्रियाशील थापालाई स्वर्गिय रुपचन्द्र विष्ट (रुदाने)को ९१औं जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा पुरस्कृत गरिएको हो ।

फरक सोचले वर्षेनी रुदानेको जन्मदिनको अवसरमा मनाउँदै आएको थाहा दिवसको अवसरमा ‘थाहा पत्रकारिता सम्मान’ वितरण गर्दै आएको छ । थाहा नगरपालिका नगर कार्यपालिकाका प्रमुख विष्णु बहादुर विष्ट तथा उपप्रमुख भरत गोपालीले आयोजित समारोहमा पत्रकार थापालाई सम्मानपत्र प्रदान गरेका थिए । थापाले सम्मानसहित नगद १० हजार पाइन् । पालुङमा सञ्चालित दक्षिण एसियाकै पहिलो अडियो टावरबाट पत्रकारिता आरम्भ गरेकी थापा अहिले अन्नपूर्ण पोष्टमा वरिष्ठ संवाददाताको रुपमा कार्यरत छिन् । सम्मान ग्रहण गर्दै पत्रकार थापाले आफ्नो जन्मथलोले पत्रकारिता क्षेत्रमा आफूले पु¥याएको योगदानको कदर गरेको बताइन् । उनले फरकसोच तथा आयोजक र समग्र जन्मथलोप्रति धन्यवाद दिदै आभार व्यक्त गरिन् ।

थाहा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीको सभाध्यक्षतामा भएको कार्यक्रम ३ नम्बर वडा कार्यालयको आयोजना तथा फरकसोचको समन्वयमा विकास घर शिखरोटमा भएको थियो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख विष्ट, विशिष्ट अतिथी नगर उपप्रमुख भरत गोपालीलगायतका अतिथीहरुले रुदानेको शालिकमा माल्यार्पण गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख विष्ट, उपप्रमुख गोपाली, रुपचन्द्र विष्ट स्थानीय स्मारक संयोजक बिमल कुमार विष्ट, जनमुखी सहकर्मीहरु ज्योती रायमाझी, प्रेम कुमार केसी, माओवादी थाहानगर अध्यक्ष बिनोद कुमार लामालगायतकाले रुदाने र थाहा दर्शनको सम्बन्धमा विचार व्यक्त गरेका थिए । वक्ताहरुले थाहा आन्दोलनको मर्म र रुदानेको स्वाभाव बारे चर्चा गर्दै रुदानेको जीवनशैली भन्दापनि सिकाइ महत्वपूर्ण हुने बताएका थिए । जनमुखी राजनीती गरेमात्र रुदानेप्रति सच्चा श्रद्धा हुने उनीहरुको भनाइ थियो ।

फरकसोचका संयोजक यादवजंग रायमाझीले कार्यक्रमका सहभागीहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा स्थानीय जनमुखी सहकार्मीहरु, राजनीतिक दलका प्रतिनीधिहरु, स्थानीय संघसंस्था प्रतिनीधिहरुलगायतकाको उपस्थिती रहेको थियो ।

यसैबीच रुदानेको ९१औं जन्मजयन्ती तथा थाहा दिवसको अवसर पारेर चुनीथान परिसरका निर्माण गरिएको जनमुखी ज्येष्ठ नागरिक सेवा केन्द्रको थाहानगर प्रमुख विष्णु बहादुर विष्टले उद्घाटन गरेका छन् । सो अवसरमा फरकसोच तथा ३ नम्बर वडा कार्यालयले जनमुखी सहकर्मीहरुलाई टोपी उपहार दिइ सम्मान गरेको छ ।

पालिका प्रेस
थप जानकारी