
थाहा नगरपालिका वडा नम्बर १ ओखरबजारमा रहेको लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाको २२औं वार्षिक साधारणसभा भएको छ । पालुङ जेसिज सभाहलमा २७ पुसमा भएको सभाको थाहा नगरपालिका नगर कार्यपालिाका प्रमुख विष्णु बहादुर विष्टले उद्घाटन गरेका थिए ।
सभाको उद्घाटन गर्दै प्रमुख अतिथी समेत रहेका विष्टले सहकारीले सामाजिक तथा आर्थिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको बताए । उनले सहकारी संस्थाहरु वित्तीय क्रियाकलापमा मात्र सिमित नरही अन्य सामाजिक कामहरु गर्नका लागि लालिगुराँस महिला बहुउद्देश्यीय सहकारीबाट अन्य संस्थाले पनि सिक्नुपर्ने बताए । उनले खस्कदै गएको सामाजिक सद्भाव र एकतालाई बढाउने र एक अर्काप्रतिको सहकार्यको भवनाको वृद्धि गर्नु पर्नेमा जोड दिए ।
संस्थाकी अध्यक्ष रीता प्रधानले सभामा आफ्नो प्रतिवेदनमा भावी नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । प्रधानले ४८ जना सदस्यहरुबाट सुरुवात गरिएको संस्थामा हाल थाहा १ र २ वडामा गरी ६ सय ९५ जना महिला शेयर सदस्यहरु रहेको सुनाइन् । तत्कालीन समयमा मध्यमाञ्चलकै उत्कृष्ट सहकारीको रुपमा र २०८१ मा थाहा नगरपालिकाबाट उत्कृष्ट महिला सहकारीको रुपमा पुरस्कृत समेत हुन सफल भएको अध्यक्ष प्रधानले आफ्नो प्रतिवेदनमा समेटेकी थिइन् । संस्थाकोे विक्रम संवत् २०५९ जेठ २ स्थापना भएको थियो ।
साधारणसभामा संस्थाका कोषाध्यक्ष नानीछोरी प्रधानले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको शेयरपुजी २५ लाख ५ हजार ९ सय तथा बचत ७९ लाख ५७ हजार रुपैयाँ र ऋण लगानी १ करोड १८ लाख रहेको उल्लेख गरिन् । संस्थाकी सचिव रितु कार्कीले २१ औं साधारणसभाको समिक्षा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । सभाले अध्यक्ष, सचिव र कोषाध्यक्षको तर्फबाट पेश भएको सबै प्रतिवेदन छलफलसहित पास गरेको छ ।
सभामा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, बागमती प्रदेश सामाजिक विकास मन्त्रालयकी अधिकृत चन्दा व्यन्जनकार, वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी, पालुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्ण बहादुर बिष्ट, चेतनशील महिला सहकारीका अध्यक्ष सकुन्तला गोपाली, फरक सोचका संयोजक यादव रायमाझी, लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाले मनोसामाजिक मनोविमर्श सेवा कार्यक्रम अन्तर्गत प्राथमिक मनोवैज्ञानिक सहयोग, व्यक्तिगत मनोविमर्श, पारिवारिक मनोविमर्श, सामुदायिक मनोविमर्श, अभिमुखिकरण, तरकारी खेती, बाख्रापालनलगायत कार्य र घरेलु हिंसामा पीडित महिलाहरूलाई उचित न्याय दिलाउने कार्य सम्बन्धी कामहरु गर्दै आएको छ । त्यसैगरी संस्थाले ओखरबजारमा रहेको भवन स्तरोन्नति, सुत्केरी भेटघाट, नेतृत्व विकास तथा क्षमता अभिवृद्धि सम्बन्धि तालिम, किशोरी केन्द्रित कार्यक्रम, सदस्य सर्वेक्षण, शेयर सदस्य वृद्धि, कम्प्युटर सफ्टवेयर जडान, मनोसामाजिक परामर्श कार्यक्रम वडागत रुपमा संचालन गर्ने, घरेलु हिंसाको अन्त्य, लक्षित बर्गको महिलालाई कृषि तालिम तथा बीउ पुँजीको कार्यक्रम जस्ता कार्यक्रम ल्याउने योजना रहेको बताएको छ ।
सभाको अवसरमा संस्थामा उत्कृष्ट कारोवार गर्ने सदस्यहरुलाई सम्मानित गरियको थियो। भुमिराज अवस्थिले संचालन गरेको कार्यक्रमका सहभागीहरुलाई संस्थाकी शान्ता कुमारी रिमालले स्वागत गरिन् । सो कार्यक्रममा थाहा नगरपालिका सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने, झम्केश्वरी माबिका प्रधानाध्यापक गणेशमान श्रेष्ठ,ल्याम्ह पुचः का सुविन्द्रमान प्रधान, थाहानगर उद्योग वाणिज्य संघका महासचिव जर्म श्रेष्ठ, पालुङ जेसीज २०२४ का अध्यक्ष निरज रायमाझी, पालुङ क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्र, थाहा नगरपालिकाका मनोसामाजिक परामर्सदाता सुनिता बस्नेत, महिला जागृती सहकारीका अध्यक्ष सुमित्रा बिडारी, सहयोगी बचतका व्यवस्थापक मोहनमान श्रेष्ठ, लेखापरीक्षक बिमल कुमार बिष्टलगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्