
मकवानपुर थाहा नगरपालिका वडा नम्बर ९ मा दुई वटा मोटरेबल पुल निर्माण हुने भएको छ । बागमती प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय चितवन भरतपुरको लगानीमा ति पुलहरु निर्माण हुन लागेका हुन् । दुईवटै पुलको थाहा नगरपालिका नगर कार्यपालिकाका प्रमुख विष्णु बहादुर विष्ट, नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष जयराम लामिछाने र वडाध्यक्ष राजकुमार बलामीले एक कार्यक्रमकाबीच संयुक्त रुपमा १६ माघमा शिलान्यास गरेका छन् ।
थाहानगरको चित्लाङ स्थित भैरबथान र कपुगाउँ जाने खोलामा पुल निर्माण हुन लागेको हो ।
कुश्लेचौर हुँदै कपुगाउँ जाने खोलामा निर्माण हुने पुलको ठेक्का बि एण्ड पि निर्माण सेवा थाहा नगरपालिका वडा नम्बर ६ ले पाएको छ । १० मिटर लामो सो पुलका लागि भ्याट बाहेक ७० लाख १७ हजार ३३४ रुपियाँमा पूर्वाधार विकास कार्यालयसंग सम्झौता भएको छ । गत १० असारमा भएको सम्झौता अनुसार पुल निर्माण २०८२ जेठ ३० गतेसम्म सम्पन्न गरिसक्नुपर्नेछ । पुल निर्माण कार्य सम्झौता अवधिमै सक्ने निर्माण व्यवसायी प्रदिप भट्टले प्रतिवद्धता जनाएका छन् ।
त्यस्तै भैरबथान खोलामा निर्माण हुने पुलको लागि स्वईच्छा कन्सट्रक्शन इन्द्रावती ५ सिन्धुपाल्चोकले ठेक्का पाएको छ । गत ६ असारमा सम्झौता भएको सो पुल आगामि २०८२ जेठ ३० गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेछ । १० मिटर लम्बाई रहने सो पुलको लागत मूल्य अभिवृद्धि करसहित ७९ लाख ३६ हजार ९५० रुपैयाँ रहेको छ ।
चित्लाङमा निर्माणाधिन दुबै पुलको निर्माण द्रुत गतिमा थालिएको निर्माण व्यवसायी राजन बस्नेतले प्रतिक्रिया दिए । सम्झौता हुने वित्तिकै निर्माणले गति लिएको बताउँदै सम्झौता अवधिमै काम सक्ने व्यवसायी बस्नेतको प्रतिवद्धता छ । ‘निर्माण सामग्री, दक्ष तथा अदक्ष जनशक्तीको व्यवस्थापन गरिसकेकोले काम राम्रै गतिमा अघि बढिरहेको छ’ बस्नेतले भने ।
९ नम्बर वडका दुबै पुल निर्माण सम्पन्न पश्चात् कपुगाउँ, खर्क, खलिवनलगायत छिमेकी इन्द्रसरोवर गाउँपालिकाको माथिल्लो क्षेत्रको बासिन्दाहरु समेत लाभान्वित हुनेछन् । वडाको ‘केनेक्टिभिटी’ रोडको रुपमा रहेका ति दुई सडकमा पर्ने उक्त पुलहरु थाहानगरलाई काठमाण्डौं जोड्ने चित्लाङ–चन्द्रागिरि सडक पछिको बैकल्पिक सडक अन्तर्गत समेत पर्दछन् ।
पुलको शिलान्यास गर्दै थाहा नगरपालिका नगर कार्यपालिकाका प्रमुख विष्णु बहादुर विष्टले नागरिकको माग सम्बोधन भएकोमा खुशी व्यक्त गर्दै बजेट विनियोजन गर्ने पूर्वाधार विकास कार्यालय चितवनलाई धन्यवाद दिए । स्थानीय सरकारले गाउँघरका किसान लक्षित कृषि सडकहरु निर्माण गरेपनि पुलका लागि बजेट अभाव भैरहेको बेला प्रदेश सरकारले गरेको सहयोग अन्तरतह समन्वयको उदाहरण भएको उल्लेख गरे । प्रमुख विष्टले निर्माण व्यवसायीलाई सम्झौताको ‘टाइमलाईन’मा आधारित भएर काम गर्न निर्देशन दिए । प्रदेशको बजेट भएपनि स्थानीय सरकारले अपनत्व लिएर सहयोग गर्ने बताउँदै निर्माण व्यवसायीलाई सहज रुपमा काम गर्ने वातावरणका लागि पालिका जहिल्यै सकारात्मक रहेको उनको भनाइ थियो ।
विद्यालय पढ्न जाँदा बर्खामा निकै सकस बेहोरोको सम्झँदै पुल निर्माणले गाउँमै विकासे उज्याले थपेको निर्माण व्यवसायी तथा समाजसेवी जयराम लामिछाने बताए । उनले आफूभन्दा अघिका पुस्ताले उक्त खोलामा पुल अभावकै कारण ज्यान गुमाउनु परेको समेत स्मरण गरे । पुल निर्माणका लागि बजेट विनियोजन गर्न योजना तर्जुमाको बखत बागमती प्रदेश सरकारलाई निकै घचघच्याउनु परेको लामिछानेले सुनाए । ‘बजेट विनियोजनका बेला निकै कसरत परेको छ, समयमै निर्माण सकियोस यहि कामना छ’–लामिछानेले भने ।
कार्यक्रममा थाहा–९ का वडाध्यक्ष राजकुमार बलामीले पुलका लागि समाजसेवी जयराम लामिछानेले पु¥याएको योगदानको कदर गरे । सबैको सहयोग र सहकार्यबाटै विकास अघि बढ्ने भएकोले राजनीति र विकास फरक कुरा भएको सुझाए । उनले थपे–‘विकासका लागि सबै एकजुट हुनुको विकल्प छैन ।’ पुल शिलान्यास कार्यक्रममा वडा सदस्यहरु, पूर्व जनप्रतिनीधिहरु तथा स्थानीय विकास प्रेमीहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्