हेटौंडा उपमहानगरपालिका–७ न्युरेनी चिसापानीस्थित कर्रा खोलामा तटबन्ध निर्माण कार्यको शिलान्यास भएको छ । बागमती प्रदेशका कृषि मन्त्री प्रकाश श्रेष्ठले १९ फागुन बिहान उक्त तटबन्धको शिलान्यास गरेका हुन् ।

बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयको १५ लाख रुपैयाँ विनियोजित बजेट अन्तर्गत भू तथा जलाधार कार्यालय हेटौंडा मार्फत तटबन्ध निर्माण थालिएको हो । तटबन्ध निर्माण समितिका अध्यक्ष प्रदीप ढकालका अनुसार कर्रा खोलाको बेलिब्रिजदेखि पूर्व खोलाको उत्तरतर्फ करिब ३८ मिटर ढुङ्गा र जाली सहित तटबन्ध निर्माण गरिनेछ।

वडाध्यक्ष दामोदर गौतमले लामो समयको प्रयासपछि तटबन्ध निर्माण कार्य सुरु भएको बताए । कार्यक्रममा बागमती प्रदेश सदस्य तथा पूर्व मन्त्री एकालाल श्रेष्ठ, वडाध्यक्ष गौतम, न्युरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष प्रकाश कार्की, संगालो टोल विकास संस्थाका अध्यक्ष रोमबहादुर न्यौपाने, प्रविधि (अमिन) मिनप्रसाद चौलागाईंलगायत स्थानीयहरूको उपस्थिति रहेको थियो।

तटबन्ध निर्माणपछि मनसुनका समयमा कर्रा खोला बस्ती पस्ने समस्या समाधान हुने अपेक्षा गरिएको स्थानीय सुन्दर तुलाधरले बताए ।

पालिका प्रेस
थप जानकारी