मकवानपुर भीमफेदी गाउँपालिका वडा नम्बर ४ का सविन वाईबालाई विद्यालय जान सधैँ हतार हुन्थ्यो। उनको घरबाट विद्यालयसम्म पुग्न करिब डेढ घण्टा हिँड्नु पथ्र्यो । भीमफेदी देउरालीकै रश्मीलाई पनि विद्यालय पुग्न एक घण्टा लाग्थ्यो। विद्यालय टाढा भएकाले कहिलेकाहीँ उनी ढिला स्कुल पुग्दा गेट बन्द भइसक्थ्यो र उनी फर्केर घरै आउने गर्थिन्।

यो समस्या सविन र रश्मीको मात्रै होइन‚ भीमफेदी गाउँपालिकाकै देउराली, चिसापानी, दमार, पान्द्राङ, धोर्सिङ्, गोल्पिङवेसी, आँचौर, माण्डु, गडेली, जुडिखेत, उर्लाघारी, धुसेनीलगायतका क्षेत्रका विद्यार्थीहरुको हो। तर अहिले भने उनीहरुको त्यो समस्याको समाधान भएको छ। भीमफेदी गाउँपालिका वडा नम्बर ६ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको २५ लाख रुपैयाँको सहयोगमा ४२ सिटे बस सञ्चालनमा आएपछि त्यहाँ अध्ययनरत विद्यार्थीलाई स्कुल आउन र फर्किन निकै सहज भएको छ।

बस सञ्चालन भएपछि यस क्षेत्रका विद्यार्थी अभिभावक सबै निकै खुशी भएका छन् । सामुदायिक (सरकारी) स्कुललाई अब्बल बनाउँदै शिक्षामा सबैको पहुँच बढाउन सामाजिक विकास मन्त्रालयले विद्यालय बस सेवा अनुदान कार्यक्रमअन्तर्गत सरकारी विद्यालयलाई बस सहयोग गर्दै आइरहेको छ। आव ०७६/७७ देखि मन्त्रालयले सरकारी स्कुलमा पढ्ने विद्यार्थीको सुविधाका लागि भन्दै बस सेवा संचालन गरेको थियो। त्यसका लागि प्रतिविद्यालय २५ लाख रुपैयाँ दिँदै आएको छ मन्त्रालयले।

मन्त्रालयका सचिव बद्रीनाथ गैह्रेका अनुसार बागमती प्रदेशका १३ वटै जिल्लाहरुमध्ये धेरै विद्यार्थी हुने, टाढाबाट आउनुपर्ने अवस्था भएका विद्यालयको मापदण्ड हेरेर बस उपलब्ध गराइएको छ। सरकारी विद्यालयमा बस सेवाले शैक्षिक गुणस्तर सुधारमा समेत सहयोग गर्ने अपेक्षा सरकारले लिएको छ। बसको सुविधा भएमा विद्यार्थीले १÷२ घण्टा हिँड्नु नपर्ने भएकाले थकित हुने र पढाइमा असर गर्ने अवस्था अन्त्य हुने र यसले सिकाइ उपलब्धि बढाउने अपेक्षा पनि गरिएको छ।

सामाजिक विकासकी हरिप्रभा खड्कीले विद्यालयमा बस सेवाले विद्यार्थीहरु खुशी हुनुका साथै विद्यालय जाने वातावरण पनि बनेको बताइन्। उनले बस सेवाले सरकारी विद्यालयका विद्यार्थीहरु घण्टौँ हिँड्नुपर्ने समस्याको समाधान हुनुका साथै विद्यार्थीमा पढ्ने ऊर्जा मिल्ने बताइन्। उनले भनिन्, ‘सरकारी विद्यालयलाई अब्बल बनाउँदै अतिविपिन्न विद्यार्थीको भविष्य सुनश्चिति गर्न हामीले बस सेवा सञ्चालन गरेका हौँ।’ सामाजिक विकास मन्त्रालयले हालसम्म ९७ वटा विद्यालयलाई बस खरिद गरेर दिइसकेको छ। जसमध्ये सबैभन्दा धेरै मकवानपुर जिल्लाका २४ वटा सरकारी विद्यालयमा बस सञ्चालित छन्।

काभ्रेपलाञ्चोक जिल्लाका १४ वटा विद्यालय, सिन्धुलीमा ५ वटा विद्यालय, सिन्धुपाल्चोक जिल्लाका ७ वटा विद्यालय, चितवनका ८ वटा र धादिङ जिल्लाका ८ वटा सरकारी विद्यालयमा बस सञ्चालनमा छन्। काठमाडौँ जिल्लाका ८ वटा स्कुल, ललितपुरका ३ वटा स्कुल, भक्तपुरका ३ वटा स्कुल, दोलखाका ४ वटा स्कुल, नुवाकोटका ७ वटा स्कुल, रामेछापका ३ वटा स्कुल र रसुवा जिल्लाका २ वटा सरकारी स्कुलमा बस सञ्चालित छन्।

मन्त्रालयले चालू आव ०८१/८२ का लागि प्रदेशका थप २३ वटा सरकारी विद्यालयमा बस सञ्चालन गर्न रकम पठाइसकेको शिक्षा निर्देशनालयका निर्देशक खुविराम अधिकारीले जानकारी दिए। उनका अनुसार चालू आवमा काठमाडौँका सरकारी विद्यालयका लागि २ वटा, दोलखाका लागि २ वटा, धादिङका लागि २ वटा, नुवाकोटका लागि २ वटा, भक्तपुरका लागि २ वटा, मकवानपुरका लागि २ पटा, रामेछापका लागि २ वटा, ललितपुरका लागि २ वटा, सिन्धुपाल्चोकका लागि एउटा, सिन्धुलीका लागि एउटा, काभ्रेपलाञ्चोकका लागि २ वटा, चितवनका लागि २ वटा र रसुवा जिल्लाको एउटा सरकारी स्कुलका लागि बसको रकम उपलब्ध गराइएको छ।

बस सञ्चालन प्रभावकारी देखिएपछि प्रदेशका अन्य सरकारी विद्यालयहरुले पनि बसको माग गरिरहेको निर्देशक अधिकारीले बताए।

पालिका प्रेस
थप जानकारी