
पुल निर्माण अधुरो रहेको भन्दै तीन वटा गाउँपालिकाका अध्यक्षले बागमती प्रदेशका मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् । आठ वर्षअगाडि ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले काम नगरेपछि पुल निर्माण अधुरो रहेको हो । पुल नबन्दा स्थानीयको दैनिक जीवन कष्टकर भएको भन्दै निर्माणका लागि पहल गरिदिन मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएको हो । तत्कालीन जिल्ला विकास समिति मकवानपुरबाट ठेक्का भएको बागमती नदीको दोभान पुल निर्माण अधुरो रहेको छ ।
काभ्रेपलान्चोक र मकवानपुर जिल्लाको दुर्गम बागमती गाउँपालिका, खानीखोला गाउँपालिका र महाभारत गाउँपालिकालाई लक्षित गरी पुल निर्माणको ठेक्का भएको हो । पूर्वाधार विकास कार्यालय चितवन र महावीर, शिखर, तामाकोशी जेभीले आर्थिक वर्ष २०७३/७४ मा सम्झौता गरेको दोभान पुल अलपत्र परेको छ ।
लामो समयसम्म पुल निर्माण नहुँदा यहाँका आमनागरिकले समस्या भोग्नु परेपछि यहाँका जनप्रतिनिधिले बागमती प्रदेशका मुख्यमन्त्रीलाई भेटेर समस्याबारे ध्यानाकर्षण गराउनुभएको हो । मकवानपुरको बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, काभ्रेपलान्चोक जिल्लाको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा र खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले संयुक्त रूपमा बागमती प्रदेशका मुख्यमन्त्री तामाङलाई भेटेर ध्यानाकर्षणपत्र बुझाउनुभएको छ ।
अलपत्र अवस्थामा रहेको पुलको दुरवस्थाको जानकारी गराउँदै पालिका अध्यक्षहरूले प्रदेश सरकारको सम्पूर्ण संयन्त्र परिचालन गरी पुल यथाशीघ्र निर्माण गरिदिनका लागि आग्रह गर्नुभएको छ । मुख्यमन्त्री लामाले छिटो समस्या समाधान गर्न पहल गर्ने जानकारी दिनुभयो । ध्यानाकर्षणपत्र बुझ्दै उहाँले आगामी वर्ष पुल निर्माणका लागि बजेट विनियोजन गर्ने आश्वासन दिनुभयो । आमनागरिकको समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको उहाँले उल्लेख गर्नुभयो ।
बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले प्राथमिकतामा राखेर पुल निर्माणलाई प्रदेश सरकारले अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो । पुलको हालसम्म ३५ प्रतिशतभन्दा कम काम भएको खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले जानकारी दिनुभयो । काभ्रेपलान्चोकको अत्यन्तै विकट खानीखोला गाउँपालिका, महाभारत गाउँपालिका र मकवानपुरको बागमती गाउँपालिका भोर्लेनी क्षेत्रलाई सडक सञ्जालमा जोड्न पुल निर्माण प्रव्रिmया अगाडि बढेको थियो ।
यी गाउँपालिकाको सबैभन्दा नजिकको बजार हेटौँडा जोड्ने एक मात्र सडक झुझुरे–भोर्लेनी, तालढुङ्गा र देवीटार सडक रहेको छ । सो सडक भएर काभ्रेको रोसी गाउँपालिका हुँदै बिपी लोकमार्ग जोडिन्छ । दुवै पालिकाबाट जिल्ला सदरमुकाम धुलिखेलसँग जोड्ने अन्य सडक भए पनि अत्यन्तै लामो र महाभारत पहाडको अप्ठ्यारो छिचोल्ने गरी सामान्य ट्र्याक मात्र खुलेको जीर्ण अवस्थामा छन् । यी सडक पनि वर्षायाम सुरु भएपछि यातायात अवरुद्ध भई एम्बुलेन्स सेवासमेत सञ्चालन नहुने अवस्था सिर्जना हुने गर्छ ।
गत असोज ११ र १२ गतेको बाढीका कारण रोसी र महाभारत जोड्ने एक मात्र थान्सिङबेँसी पुल बगाई क्षति पुगेकाले निर्माणका लागि माग गरिएको छ । बागमती प्रदेश सरकारको गौरवको आयोजना निर्माणाधीन सात सय मिटरको जनमुक्ति मार्ग अन्तर्गत हात्तीसार सिव्रmे दोभान खण्ड गत असोजको बाढीले क्षतिग्रस्त भएकाले पुनर्निर्माणका लागि अनुरोध गरिएको हो । ८.७ किलोमिटरको तीनखुट्टे देवीटार खण्डको २०७७ मा ठेक्का सम्झौता भई समय अवधि पटक पटक थप गर्दासमेत ६० प्रतिशत पनि कार्य प्रगति भएको छैन । खानी खोला र पार्वती खोला पुलमा समेत सोही समस्या रहेकाले उक्त आयोजना यथाशीघ्र सम्पन्न गर्न मुख्यमन्त्रीको ध्यानाकर्षण गरिएको स्थानीय जनप्रतिनिधिको भनाइ छ । गोर्खापत्रबाट ।
प्रतिक्रिया दिनुहोस्