थाहा नगरपालिकाको आयोजनामा जनप्रतिनीधि र कर्मचारीहरुका लागि तीनदिने क्षमता अभिवृद्धि तालिम २५ फागुनबाट शुरु भएको छ । तालिममा नगर प्रमुख तथा उपप्रमुखसहित वडाध्यक्षहरु, महाशाखा, शाखा प्रमुख र वडा सचिवहरुको सहभागिता रहेको छ ।

तालिमका सहभागीहरुलाई नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बाँसकोटा तथा पूर्व सहसचिवद्वय महेन्द्र थापा र लक्ष्मी विलास कोइरालाले सहजीकरण गरिरहेका छन् ।
थाहानगर बज्रवाराहीको अध्याय रिसोर्टमा भइरहेको तालिममा सकारात्मक सोच, आन्तरिक नियन्त्रण प्रणाली, अन्तरतह समन्वय, पत्रव्यवहार, प्रतिवेदन लेखन, बैठक सञ्चालन प्रक्रिया, सञ्चार व्यवस्थापन, कार्यपालिका, नगरसभा सञ्चालन, टिप्पणी लेखन, बजेट तर्जुमा, राजश्व, सार्वजनिक खरिदलगायतको विषयमा सहजकर्ताहरुले सहजीकरण गर्ने कार्यक्रम छ ।

यसैबीच २५ फागुनमा एक समारोहकाबीच नगर प्रमुख विष्णु बहादुर विष्टले तालिमको उद्घाटन गरे । तालिमको उद्घाटन गर्दै प्रमुख विष्टले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गरे । पालिकाको सेवा प्रवाहलाई थप चुस्त दुरुस्त बनाउनको लागि तालिमले सहयोग मिल्ने विष्टको विश्वास रहेको थियो । तालिमको उद्देश्यमाथि प्रकाश पार्दै प्रमुख प्रशाकीय अधिकृत सुरेन्द्र प्रधानले स्वागत गरेका थिए । प्रधानले जनप्रतिनीधि र कर्मचारीको क्षमता अभिवृद्धिले समग्र पालिकाको सेवा प्रवाह, सुशासनमा सकारात्मक परिवर्तन आउने बताए ।

कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली, वडाध्यक्षहरु, शाखा प्रमुखहरु तथा वडा सचिवहरुको सहभागिता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी