मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ स्थित शंखमूलमा मोक्ष धाम निर्माण गर्ने विषयमा छलफल भएको छ । हिमवत खण्डमा उल्लेख भए अनुसार विश्वकै प्रसिद्ध शंखमूल परिसरमा धाम निर्माण गर्नका लागि तरकारी संकलन केन्द्र घट्टेचौरमा २८ फागुनमा वृहत छलफल भएको हो । छलफल कार्यक्रम थाहा नगरपालिकाको आयोजनामा गरिएको पालिकाका प्रवक्ता हिरेन्द्र कुमार रायमाझीले जानकारी दिए ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको विशेष उपस्थितीमा भएको छलफल कार्यक्रममा मठाधीस अनन्त श्रीविभूषित स्वामी श्रीचतुर्जुजाचार्य चूडामणिजी महाराजले थाहानगरको शंखमूलको इष्ट मोक्ष नारायण भएको उल्लेख गर्दै ‘मोक्ष धाम’ निर्माण गर्नु धार्मिक दृष्टिकोणले उपयूक्त हुने सुझाए । चूडामणि महाराजले धार्मिक ग्रन्थहरुको आधारमा थाहाको शंखमूल विश्वकै पवित्र भूमि भएको सबैका सामू प्रष्ट पार्दै भने–‘हिमवत खण्डको अध्याय ११२ मा यो शंखमूलको विषयमा स्पष्ट उल्लेख गरिएको छ, यो भन्दा ठूलो प्रमाण के चाहियो ?’ सो अध्यायमा शंखमूल कसरी भयो, यसका आसपास अरु पवित्र धार्मिक स्थल के के छन ? सबै बेलीविस्तार लगाइएको मठाधीस अनन्त श्रीविभूषित स्वामीले सबैलाई सुनाए ।
छलफल कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले थाहा नगरपालिका धाम निर्माणका लागि अघि सरे प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । विकासमा सहलगानीको अवधारणा अनुसार अघि बढ्ने लामाले जानकारी गराए । ‘स्थानीय सरकारले थोरै नै किन नहोस् बजेट विनियोजन गरोस्, प्रदेश सरकारले सक्दोको बजेटको व्यवस्था गर्छ’ मुख्यमन्त्री लामाले भने,–साँझेदारीले विकास आयोजनाहरुमा आफ्नोपन ल्याउँछ र, त्यो दीगो पनि हुन्छ ।’
थाहा नगरपालिका नगर कार्यपालिकाका प्रमुख विष्णुबहादुर विष्टले चूडामणि महाराजले शंखमूलको धार्मिक महत्वबारे प्रमाणमा आधारित भएर बताएपछि ऐतिहासिक सम्पदा संरक्षण र नयाँ योजनासहितको धार्मिक पूर्वाधार विकासमा अगाडि बढ्न सहज भएको उल्लेख गरे । शंखमूल बारे आफूले सुनेका कुरा प्रमाणकै रुपमा पाउँदा निर्धक्कताको महसुस भएको विष्टले सुनाए । शंखमूललाई धार्मिक क्षेत्रको रुपमा विकास गर्न संघ, प्रदेश सरकारको साथै मनकारी दताहरुको समेत लगानीको अपेक्षा गरे । शंखमूललाई धार्मिक क्षेत्रको रुपमा विकास गर्नका लागि पालिकाको पहलमा केही कामहरु भैरहेको बताए । ‘पालिकासंग थोरै बजेट हुन्छ, विकासका काममा छेउ पनि पुग्दैन, त्यसैले मुख्यमन्त्रीसंग पनि सहयोगको अपेक्षा गरेका छौं’ं, प्रमुख विष्टले भने ‘संघी सरकार र अन्य दाताहरुको पनि सहयोगको अपेक्षा गर्दछौं ।’ पवित्र स्थल शंखमूलको विकासका लागि सरकार र समुदाय सबै एक हुनुपर्ने प्रमुख विष्टको भनाइ थियो ।
थाहा नगरपालिका नगर कार्यपालिकाका उपप्रमुख भरत गोपालीले शंखमूलको धार्मिक दस्तावेजको प्रमाणित आधारहरु खोजी गर्ने क्रममा मठाधीश श्रीचतुर्भुजाचार्य चूडामणि समक्ष पुगेको उल्लेख गरे । उपप्रमुख गोपालीले शंखमूलमा पूर्वाधार विकाससँगै धार्मिक पर्यटक भित्र्याउन ठूलो योगदान पुग्ने बताए । शंखमूलसँग धार्मिक महत्व जोडिएको नजिकै रहेका ऐतिहासिक पाण्डुकेश्वर मन्दिर भद्रतीर्थको पनि विकास गरिने गोपालीले उल्लेख गरे । शंखमूलको वृहत विकासका लागि विस्तृत परियोजना प्रस्ताव तयार हुँदै गरेको बताउँदै गोपालीले मन्दिर, पुष्पबाटिका, किरियापुत्री घर, मोक्ष नारायणको मन्दिर, गौशाला भद्र तिर्थ, एकसय आठ शंख धारासहित धर्मशालालगायतका पूर्वाधार निर्माण गर्ने योजना रहेको जानकारी दिए । शंखमूल क्षेत्रको ऐतिहासिक सम्पदा संरक्षण र नयाँ पूर्वाधार विकासमा नगरपालिका अग्रसर रहेको गोपालीको भनाइ थियो ।
कार्यक्रममा नेकपा एमालेका थाहानगर अध्यक्ष सुरेन्द्रमान प्रधानले विकासमा सबै पक्षको एकमतता भए आँटेका काम संभव हुने बताए । शंखमूल क्षेत्रको धार्मिक महत्वको प्रचार र पूर्वाधार निर्माण गर्न सके यहाँको पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने उल्लेख गरे । थाहा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष हिरेन्द्र कुमार रायमाझीले वडाको गौरबको योजनाको रुपमा अघि सार्दै गरेको भए पनि बजेट अभावमा सपना सपनामै सीमित रहेको सुनाए । अध्यक्ष रायमाझीले भने, –‘प्रदेश र संघीय सरकारले ऐतिहासिक क्षेत्रमा सम्पदा निर्माणका लागि सहयोग गरिदिन पर्यो ।’
कार्यक्रममा थाहा नगरपालिका नगर कार्यपालिकाका पूर्व नगर उपप्रमुख खड्ग गोपाली, नेकपा माओवादी केन्द्रका अरुण रायमाझी, थाहा २ का पूर्व वडाध्यक्ष गुप्त बहादुर कार्की, थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल, जनकल्याण माविका प्रधानाध्यापक सानोभाइ कार्कीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मठाधीस अनन्त श्रीविभूषित स्वामी श्रीचतुर्जुजाचार्य चूडामणिजी महाराजले प्रमाणका आधारमा प्रस्तुत भनाइको सम्पादित अंशः
शंखुकर्ण दैत्यले युद्ध गरेर भगवान शंकरबाट वरदान पाएको ठाउँ हो यो । यहाँ देउता र दैत्यबीच ठुलो लडाइ भएको थियो । भगवान शंकरले यहाँ वैभव देखेर नारायणलाई समेत धर्तीमा उतारी युद्धसन्धी भएको थियो । भगवान अन्तरंङ्ग रुपमा खुशी भएर नेत्रबाट जलविन्दु उत्पत्ती भएको थियो । यहिँ ठाउँ पातालगंगा हो । यहि दुई नदीको संगमस्थलमा जल हुनै पर्छ नभए भोलि डोजर लाएर हेर्नुस् कुवा वा कुनै नदीको स्रोत हुनै पर्छ । यस अघि कोही कसैले देख्नू भएको पनि होला ।
फोटोः गणेश विष्ट/पालिका प्रेस
यसलाई पातालगंगको समेत नाम दिइएको छ । शंखुकर्ण दैत्यले विजय प्राप्त गरेको, मोक्ष प्राप्ती गरेको, भगवान शंकरको अश्रुबिन्द परेको एउटा नारायणी गंगा जुन नारायण तिर्थबाट आएको र ऋषेश्वरबाट आएको ऋक्षेमती गंगाको संगम भएको यहिँ ठाउँ शंखमूल हो । यो विश्व प्रशिद्ध ठाउँ हो ।
यहाँ पौषे औसीमा गरेको पितृहरुको श्राद्ध कुनै प्रकारको तुलना छैन । गया, काशी, उत्तरगया, गोकर्ण आदि तिर्थहरुमा गरिएको भन्दा पनि उत्तम फल यहाँ पाइन्छ । युद्ध सकिएपछि शंङ्खमूल नामाकरण गरेपछि यहाँ देवर्षि नारद आएर पहिलो स्नान गर्नु भएको हो । देवर्षि शंखमूलमा स्नान गरेर ऋष्ोश्वरमा बस्नु भएको हो । त्यो ठाउँ अहिलेको ऋष्ेश्वर हो । शंखमुलको स्नान, मोक्षनारायणको दर्शन र पाण्डुकेश्वरको दर्शन गरे कुनै अश्वमेघ यज्ञ गर्नुपर्दैन ।
हेर्नुहोस् भिडिओ: श्रीकृष्ण श्रेष्ठ/पालिका प्रेस
प्रतिक्रिया दिनुहोस्