
मकवानपुरको कैलाश गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र रहेका सडक सञ्जाल अन्तरगत सडक क्षेत्राधिकारभित्र सेडव्याक कायम नगरी कुनै पनि घर, टहरा नबाउन आग्रह गरेको छ । घर टहराजस्ता संरचना निर्माण भएको देखिन आएकाले गाउँपालिकाले सूचना जारी गर्दै सडक क्षेत्रमा घरटहरा निर्माण कार्य रोक्न आग्रह गरेको हो ।
गाउँपालिकाको स्वीकृत सडक यातायात गुरुयोजना (एमटिएमपी) तथा वस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी मापदण्ड, २०८० बमोजिम निर्माणकार्य रोक्न लगाइएको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताए । मापदण्डमा सडक क्षेत्रबाट दायाँबायाँ ३÷३ मिटरको सेडव्याक कायम रहेकोले सोही अनुरुप क्षेत्र छुट्याएर निर्माणकार्य गर्नुपर्ने अध्यक्ष मुक्तानले बताए ।
कैलाशको चुनियाँ– नामटार–कालिकाटार सडकअन्तर गत भाल्टार, कुमलटार, क्रिश्चियन चोक, बेतेघारी, घुमाउने, टकुवा, च्याँखेटार, कालिकाटार हुँदै फास्टार, सुकुभञ्ज्याङ तथा भार्तालगायत गाउँपालिकाको मुख्य सडकक्षेत्रमा मापदण्ड लागु हुने प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठले बताए । गाउँपालिकाले जुन मापदण्ड तय गरेको छ सोही अनुरुप नागरिकले मापदण्ड पालना गर्नुपर्नेछ, उनले भने ।
प्रतिक्रिया दिनुहोस्