
मकवानपुरको थाहा नगरपालिकाले हावाहुरीले घर र गोठको छाना उडाएकाहरुलाई पुनः छाना लगाउनका लागि बढीमा प्रतिघर ३० हजार रुपैयाँ राहतस्वरुप रकम उपलब्ध गराउने भएको छ । थाहानगर विपद व्यवस्थापन समितिको १ चैत्रको बैठकले तत्कालैका लागि पीडितहरुलाई त्रिपाल उपलब्ध गराएको छ । नगरपालिका र नेपाल रेडक्रस सोसाइटी उपशाखा दामनको समन्वयमा पीडितहरुलाई त्रिपाल वितरण गरिएको सभापति मनश्याम बस्नेतले जानकारी दिए ।
निजी भवनतर्फका प्राविधिक शाखाका प्राविधिकहरु घर/घरमा पुगेर स्टमेट गरेको आधारमा बढीमा प्रतिघर ३० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको विपद व्यवस्थापन समितिका अध्यक्ष एवं थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले बताए । ‘आइतबारसम्म प्राविधिक टोलीले प्रतिवेदन विपद व्यवस्थापन समितिलाई पेस गर्ने छन् । त्यसपछि लगत्तै विपद व्यवस्थापन समितिले राहत रकम उपलब्ध गराइने छ,’ नगर प्रमुख विष्टले भने ।
पशु र कृषि शाखाका प्राविधिकहरुले पनि स्थलगत अध्ययन गरेर आइतबारभित्र समितिमा प्रतिवेदन पेस गर्न विपद व्यवस्थापन समितिले निर्णय गरेको थाहा नगरपालिका सूचना अधिकारी सुरजकुमार भुजेलले बताए । हावाहुरीले विद्युत्का पोलहरु ढालेको छ ।
थाहामा २९ फागुन बेलुका हावाहुरी चल्दा तीन वटा वडाका ९९ वटा घरगोठका छाना उडाउनुका साथै दर्जनौं तरकारीका प्लास्टिकका टनेलहरुलाई क्षति पु¥याएको छ । हावाहुरीले थाहा—३ मा ५१ वटा घर र ७ वटा गोठका छानाहरु उडाएको छ । ४ नम्बर वडाको २५ वटा घर र ६ वटा गोठका छानाहरु २९ फागुनमा आएको हुरी बतासले उडाएको छ । ५ नम्बर वडाको १० घरको छाना हावाहुरीले उडाएको थाहा नगरपालिकाका प्रवक्ता हिरेन्द्र कुमार रायमाझीले जानकारी दिए ।
‘थाहा नगरपालिका—३ मा निर्माणाधीन शितभण्डारको छाना पनि उडाएको छ,’ स्थानीयवासी सुदर्शन विष्टले भने । थाहाले तत्कालका लागि हावाहुरीले छाना उडाएका घरधनीहरुलाई त्रिपाल पनि राहत स्वरुप उपलब्ध गराएको छ । ‘हावाहुरीले तरकारीका टनेलहरुलाई क्षति पु¥याएको छ, त्यसको एकिन विवरण आइपुगेको छैन,’ सूचना अधिकारी भुजेलले भने, ‘टोली क्षतिग्रस्त क्षेत्रमा पुगेपछि त्यसको एकिन विवरण आउने छ ।’
२९ फागुन बेलुका साढे ६ बजेतिर पानीसँगै आएको हावाहुरीले घर्तिखोला भैरव मन्दिर माथि क्षेत्रका अधिकांश जस्तापाताको छाना भएका घरहरुको छाना उडाएको छ । थाहा—३ र ४ नम्बर वडाको अधिकांश बस्तीमा २९ फागुन बेलुकादेखि अवरुद्ध विद्युत् सेवा हाल सुचारु भएको छ । ‘हावाहुरीले घरको छानामात्र उडाएन तरकारी खेती गरिरहेको प्लास्टिकको टनेल पनि उडायो ।’ प्रवक्ता रायमाझीले भने ।
प्रतिक्रिया दिनुहोस्