
कुलेखानी प्रथम जलविद्युत केन्द्र अन्तर्गत धोर्सिङ सब–स्टेशनबाट वितरण भईरहेको विद्युत सप्लाई ५ दिनको लागि बन्द हुने भएको छ । धोर्सिङ सब–स्टेशनबाट थाहा नगरपालिकासहित ईन्द्रसरोवर, भिमफेदी र कैलाश गाँउपालिकामा विद्युत वितरण भईरहेको ५ एम.भि.ए. क्षमताको ट्रान्सफर्मरको क्षमता बढाई २२.५ एम.भि.ए.क्षमताको ट्रान्फर्मर जडान गर्न ७ चैत्र बिहान ७.०० बजे देखि ११ गते साँझ ६.०० बजे सम्म धोर्सिङ सब स्टेशनबाट लाईन सटडाउन गर्नु पर्ने भएकाले लाईन बन्द हुन लागेको हो ।
उत्तरी मकवानपुरको एक मात्र विद्युत आपुर्तिको स्रोत धोर्सिङ सब–स्टेशनबाटै विद्युत सप्लाई बन्द हुने भएपछि उक्त समयमा पालुङ वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा पनि विद्युत आपुर्ति अनियमित अर्थात आउने जाने हुन सक्ने पालुङ वितरण केन्द्रले जनाएको छ ।
धोर्सिङ सब–स्टेशन बन्द हुने समयमा धादिङको नौबिसे तथा हेटौंडाको चौकिटोल र हात्तीसँुडे सब–स्टेशनबाट वैकल्पिक फिडरमार्फत विद्युत आपुर्तिको तयारी गरिएको र वैकल्पिक फिडर अत्यन्तै लामो भएका कारण भोल्टेज कम हुने र लाईन काट्ने लगाउने गर्नुपर्ने हुँदा नियमित विद्युत आपुर्तिमा समेत समस्या हुन सक्ने भएकाले आवश्यक आवश्यक्ताका लागि मात्र प्रयोग गर्न पालुङ वितरण केन्द्रले आग्रह गरेको छ ।
नेपाल विद्युत प्राधिकरणको ग्रिड संचालन विभागले धोर्सिङ सब–स्टेशनमा हाल जडित ५ एम.भि.ए.को ट्रान्सफर्मरबाट लोड व्यवस्थापन गर्न अपुग भएपछि २२.५ एम.भि.ए को ट्रान्सफर्मर जडान गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस्