हेटौंडा १ र १९ नं वडाका उपभोक्ताहरूको लागि निर्मित खानेपानी आयोजना लेकपानी दुपारे भैरबडांडाको ११ चैत्रमा उदघाटन गरिएको छ । बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिचाई मन्त्री श्यामबहादुर खड्काले खानेपानी आयोजनाको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा मन्त्री खड्काले जनताको समस्यालाई सम्बोधन गर्न नसक्दा नै अहिले प्रदेश सरकार प्रति जनताको नैराश्यता छाएको बताए । विगतमा पहुँचको आधारमा विभेद पूर्ण तरिकारले बजेट विनियोजना भएकोले अब त्यो स्थिति अन्त्य हुने उहाँले दाबी गरे । मन्त्री खड्काले जनतासंग प्रत्यक्ष सरोकार राख्ने योजनाहरुलाई छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

उक्त योजनाको लागि चालू आर्थिक वर्ष २०८१÷८२ मा ७८ लाख विनियोजन भएकोमा २ वटा ७५ घनमीटर क्षमताको ग्राउण्ड रिजभ्र्वायर टंकी र पाइप खरिद कार्यको लागि ७१ लाख खर्च भइसकेको खानेपानी तथा सरसफाई डिभिजन १ मकवानपुरका डिभीजन प्रमुख रविन श्रेष्ठले जानकारी दिए । खानेपानी आयोजनाबाट ७ सय भन्दा बढी घर लाभान्वित हुने कार्यालयले जनाएको छ । बाँकी घरधुरीलाई व्यवस्थित ढंगले खानेपानी सञ्चालन गर्न १ करोड ५० लाख बजेट आवश्यक रहेको डिभिजन प्रमुख श्रेष्ठले बताए ।

लेखपानी दुपारे भैरबडाँडा खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष खडग रत्न गोलेको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका पूर्व खानेपानी मन्त्री एकलाल श्रेष्ठ, १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने, खानेपानी ऊर्जा तथा सिंचाई मन्त्रालयका महाशाखा प्रमुख नबिन अधिकारी, बागमती प्रदेश खानेपानी महासंघ तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष बद्री देबकोटा लगायतको आतिथ्यता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी