मकवानपुर जिल्लास्तरीय खुला कराते प्रतियोगिता, २०८१ मा ८ स्वर्ण पदकसहित थाहाको चित्लाङमा रहेको स्वच्छन्द भैरव कराते डोजो टिम प्रथम भएको छ । थाहानगर खेलकुद विकास समितिको आयोजना तथा चित्लाङको स्वच्छन्द भैरव डोजोको व्यवस्थापनमा भएको दोस्रो जिल्लास्तरीय प्रतियोगितामा ७ स्वर्ण पदकसहित हात्तिसुढे कराते डोजो दोस्रो भएको छ ।

पहिलो भएको स्वच्छन्द भैरव डोजो चित्लाङले ८ स्वर्णसहित ५ रजत तथा १२ कास्य पदक हात पारेको थियो । त्यसैगरी दोस्रो भएको हात्तीसुढे डोजोले ७ स्वर्णसहित २ रजत र १ कास्य हात पार्यो भने २ स्वर्ण ७ रजत पदक र ७ कास्य जित्दै थाहा कराते डोजो टिम तेस्रो भएको छ । विजयी टिमहरुले ट्रफी लगायत पुरस्कार पाएका छन् । प्रतियोगितामा पुरुष तर्फ स्वच्छन्द भैरव डोजोका शलिम गमाल उत्कृष्ट खेलाडी घोषित भएभने हात्तीसुढे डोजोकी सुजाता ब्लोन महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भइन् ।

थाहा नगरपालिका खेलकुद विकास समिति संयोजक टिकाराम स्याङ्तानको अध्यक्षतामा भएको प्रतियोगिता समापन समारोहमा थाहानगर प्रमुख बिष्णु बहादुर बिष्टले थाहा नगरपालिकाले खेलकुद क्षेत्रको विकासको लागि सहयोग गर्दै आएको बताए । विष्टले नगरमा आयोजना हुने सबै खेललाई समान महत्व दिएको धारणा व्यक्त गरे । खेलाडी राष्ट्रका गहना भएकाले अनुशासित भएर खेल्नु पर्नेमा सुझाव दिएका थिए ।

प्रतियोगितामा जिल्लाका ९ वटा डोजोको सहभागिता रहेको प्रतियोगिताका संयोजक रोशन बलामीले जानकारी दिए । कार्यक्रममा थाहा ९ का अध्यक्ष राजकुमार बलामी, समाजसेवी तथा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि जयराम लामिछाने, प्रशिक्षणक तथा रेफ्रीहरुको उपस्थिति रहेको थियो।

पालिका प्रेस
थप जानकारी