आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि राजस्व बाँडफाँट माध्यमबाट प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने बजेट स्वीकृत भएको छ । १८ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले २०८२/८३ देखि २०८६/८७ सम्मका लागि प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको विस्तृत आधार र ढाँचा स्वीकृत गरेको हो ।
सरकारले गरेको निर्णय अनुसार मकवानपुरका १० पालिकाले आगामि आर्थिक वर्ष संघीय सरकार मार्फत १ अर्ब २३ करोड २२ लाख रुपियाँ राजश्व बाँडफाँठड तर्फ अनुदान पाउने भएका छन् । जिल्लाको १० पालिका मध्ये सबैभन्दा बढि हेटौंडा उपमहानगरपालिकाले २२ करोड ८५ लाख र सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकाले ६ करोड ७५ लाख पाउने छन् ।

त्यसैगरी थाहा नगरपालिकाले १० करोड ७० लाख, कैलाश गाउँपालिकाले ९ करोड ६७ लाख, राक्सिराङ गाउँपालिकाले १० करोड ६१ लाख, मनहरी गाउँपालिकाले १३ करोड ७६ लाख रुपियाँ पाउने भएका छन् । भिमफेदी गाउँपालिकाले ९ करोड ८९ लाख, मकवानपुरगढी गाउँपालिकाले ९ करोड ३८ लाख, बकैया गाउँपालिकाले १५ करोड ५५ लाख र बागमती गाउँपालिकाले राजश्व बाँडफाँड मार्फत १४ करोड ६ लाख रुपैया बजेट पाउने भएका छन् ।
आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तह दुवैमा समान ७८ अर्ब ८ करोड ५० लाख रुपैयाँ बाँडफाँट हुनेछ । जुन १ खर्ब ५६ अर्ब रुपैयाँ हुन आउँछ । संघीय सरकारले उठाउने राजस्वमध्ये आन्तरिक उत्पादनमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्कबाट उठेको रकम बाँडफाँट गरिन्छ । यसको ७० प्रतिशत हिस्सा संघले राख्छ । बाँकी ३० प्रतिशत भने प्रदेश र स्थानीय तहमा १५/१५ प्रतिशतका दरले बाँडफाँट गरिन्छ । उता, सवारीसाधन कर प्रदेशले उठाउने गर्छ ।
यसैबीच आगामी आर्थिक वर्षमा नेपाल सरकारबाट प्रदेश सरकारमा जाने राजस्व बाँडफाँट रकममध्ये सबैभन्दा धेरै कोशी प्रदेशमा जाने छ । कोशीले १२ अर्ब ३९ करोड ६० लाख पाउने छ । दोस्रो स्थानमा मधेस छ । मधेसले १२ अर्ब ३५ करोड ८४ लाख पाउने छ । तेस्रो स्थानमा रहेको लुम्बिनीले ११ अर्ब ८६ करोड पाउने छ । बागमतीले ११ अर्ब ५२ करोड पाउने देखिएको छ । कर्णालीले १० अर्ब २७ करोड, गण्डकीले ९ अर्ब ७९ करोड र सबैभन्दा कम सुदूरपश्चिमले ९ अर्ब ८७ करोड पाउने छ ।
- सबै पालिकाको हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्ः
















































पालिका प्रेस 











प्रतिक्रिया दिनुहोस्