कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ का ९७ किसानलाई कृषि सामग्री वितरण गरिएको छ । वडा नम्बर ३ ले स्प्रे ट्यांकी ६१ जनालाई, चरा मेसिन २६ जनालाई र पानी तान्ने मोटर १० जनालाई वितरण गरेको वडाध्यक्ष टेकलाल सापकोटाले बताए । ५० प्रतिशत किसानको र ५० प्रतिशत वडाको लगानीमा कृषि सामग्री वितरण गरिएको उनले जानकारी दिए । वडाध्यक्ष सापकोटाले किसानको मागअनुसार कृषि सामग्री वितरण गरेको बताए । कृषि उत्पादन बढाउन तरकारी पकेट क्षेत्रका लागि मैनार–बुलाकियामा लिफ्टिङ सिँचाइ योजना सम्पन्न भएको उनको भनाइ छ ।

अन्य क्षेत्रमा पम्प सेट व्यवस्थापन गरिएको र बेमौसमी वर्षाले किसानलाई पु¥याएको क्षति विवरण जिल्ला पठाइसकेको र किसानलाई राहत उपलब्ध गराउने पहल भइरहेको उनले बताए । कार्यक्रममा नगरप्रमुख नेत्रराज अधिकारीले कृषि क्षेत्रमा किसानलाई आत्मनिर्भर बनाउन प्रत्येक वर्ष कृषि औजार वितरण गरिँदै आएको जानकारी दिए ।  व्यावसायिक रूपमा कृषि खेती गरी किसानको आम्दानी बढाउने उद्देश्यले कृषि सामग्री वितरण गरिएको उनको भनाइ छ ।  नगरप्रमुख अधिकारीले वितरण गरिएका कृषि सामग्री सदुपयोग गरी लाभ लिन किसानलाई सुझाए । आगामी दिनमा किसानलाई उत्पादनका आधारमा अनुदान दिइने उनले बताए ।

नगर उप–प्रमुख शिवकुमारी थारुले किसानलाई उत्पादनमुखी बनाउन पहल भइरहेको र वडा नम्बर ३ लाई तरकारी पकेट क्षेत्रका रूपमा विकास गर्न लागिएको जानकारी दिइन् । वडामा अधिकांश क्षेत्र कृषि खेतीका लागि उपयुुक्त रहेकाले कृषिमा लगानी गर्नुपर्नेमा उनले जोड दिइन् । नगरपालिका कृषि शाखा प्रमुख ताराचन्द चौधरीले आगामी दिनमा कृषिलाई आधुनिकीकरण गर्न प्रविधियुक्त कृषि औजार वितरण गर्ने योजना रहेको बताए ।

पालिका प्रेस
थप जानकारी