
मकवानपुरको एक विकट र चट्याङको उच्च जोखिम रहेको पालिकाले चट्याङको पूर्वसूचना दिने यन्त्र सेन्सरसहितको साइरन स्थापना गरेको छ । राक्सिराङ गाउँपालिका–५ को चैनपुरस्थित विद्यालय र पालिका भवनमा साइरन स्थापना गरिएको छ । चट्याङजन्य प्रकोपबाट जनधनको क्षति न्यूनीकरण गर्न राक्सिराङ गाउँपालिकामा चट्याङको पूर्वसूचना दिने यन्त्र सेन्सरसहितको साइरन स्थापना गरिएको हो । एक विशेष कार्यक्रमका बीच उक्त सामग्री गाउँपालिकालाई १६ वैशाखमा हस्तान्तरणपश्चात जडान गरिएको हो ।
अन्य वडामा २ दिन भित्रमा साइरन जडान गरिसक्ने गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । साउथ एशियन लाइट्निङ नेटवर्कका अध्यक्ष तथा अनुसन्धानकर्ता श्रीराम शर्माका अनुसार, दक्षिण एसियामै पहिलोपटक सफल परीक्षणपछि यो यन्त्र राक्सिराङमा जडान गरिएको हो । ‘यस यन्त्रले आकाशमा विद्युतीय चार्जको अनुभूति गरेपछि १६ किलोमिटरको रेडियसभित्र चेतावनी दिन सक्छ,’ उनले भने । यसअघि नगरकोटमा सफल परीक्षण गरिएको थियो । यो प्रणालीले चट्याङ आउनुभन्दा करिब १६ मिनेटअघि पूर्वसूचना दिने र सर्वसाधारणलाई सुरक्षित स्थानमा जानको लागि सन्देश प्रवाह गर्ने अनुसन्धानकर्ता शर्माको भनाइ छ ।
गाउँपालिका अध्यक्ष मल्लले राक्सिराङ उच्च विपद् जोखिमयुक्त क्षेत्र भएकाले यस्तो प्रविधिको अत्यावश्यक रहेको बताए । पूर्व जानकारी पाउने व्यवस्था भएपछि चट्याङबाट सचेत गराउन र सुरक्षाका उपाय अपनाउन सहज हुने अध्यक्ष मल्लको भनाइ थियो । स्थानीय स्तरमा यस प्रविधिको स्थापना हुँदैगर्दा समुदायमा चट्याङप्रति सचेतना अभिवृद्धि हुने र समयमै सुरक्षित ठाउँ खोज्न सकिने सम्भावना हुने शर्माले भने । प्राविधिक टोलीले यथासिघ्र सबै साइरन यन्त्रहरू जडान गर्ने जनाएको छ ।
वडा नम्बर १ को राम्चे, वडा २ र ३ को भाट्टी, वडा ४ को वडा कार्यालय, वडा ५ को चैनपुरमा मुख्य सेन्सरसहितको साइरन, वडा ६ को सिलिङेको विद्यालय भवन, वडा ७ को गर्लिङ, वडा ८ को पाङ्बुङ र वडा ९ को प्रहरी चौकी कन्द्राङमा साइरन प्रणाली राखिनेछ । पिपुल इन निडको आर्थिक सहयोग र साउथ एशियन लाइट्निङ नेटवर्कको प्राविधिक सहयोगमा एउटा मुख्य सेन्सर र आठवटा साइरन सिस्टम वितरण गरिएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर बस्नेत, वडा नम्बर १ देखि ९ सम्मका वडाध्यक्षहरू तथा प्राविधिक समूहको उल्लेखनीय उपस्थिति रहेको थियो ।
चट्याङबाट राक्सिराङ गाउँपालिकामा चालु आवको १० महिनामा ४ जना घाइते भएका छन् । गाउँपालिकाको तथ्याङ अनुसार गत आवमा चट्याङवाट राक्सिराङ गापामा–२ जनाको मृत्यु हुनुको साथै ८ जना घाइते भएका थिए ।
प्रतिक्रिया दिनुहोस्