
थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टले मकवानपुरमा लागुऔषध कारोवार तथा ओसारपसारका घटना वृद्धि भइरहेको र दैनिक रुपमा लागूऔषध प्रयोगकर्ताको संख्या पनि बढ्दो क्रममा रहनु चुनौतिको विषय भएको बताएका छन् । मकवानपुर नै लागूऔषधी कारोबारको हब बन्दै गैरहेकोमा प्रमुख विष्टले चिन्ता व्यक्त गरे । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय मकवानपुरले विकास घर शिखरकोटमा २४ वैशाखमा आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक बिश्वराज खड्काले जिल्लामा आर्थिक बर्ष २०८१÷०८२ को चैत्र मसान्त सम्म ४ हजार ३ सय १७ किलो गाँजा,२० किलो २ सय ३१ ग्राम अफिम,४ सय २८ ग्राम खैरो हिरोइन, ५१ किलो ७ सय १० ग्राम चरेस, कोरेक्स ३ सय ७७ बोतल, नाइट्राभेट ६० हजार ४ सय ५५ क्याप्सुल, डाइजापाम १६ सय ३२ एम्पुल र लागुऔषध कारोबारमा प्रयोग भएको ३४ थान सवारीसाधन पक्राउ गरेको जानकारी दिए। प्रमुख खड्काले यस आर्थिक बर्षको चैत सम्म १ सय ३९ वटा मुद्दा दर्ता गरि २ सय ८ जनालाई पक्राउ गरिएको जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार जिल्लामा १५ बर्ष देखि २५ बर्ष सम्म उमेर रहेका ५१ प्रतिशतले लागू औषधको प्रयोग गर्ने गरेको तथ्यांक रहेको छ भने २६ देखि ३५ बर्षका २९ प्रतिशत र ३६ बर्ष देखि माथीका २० प्रतिशत लागू औषध प्रयोग गर्ने गरेको छ। जिल्लामा यो आर्थिक बर्षमा १ सय २० बिघा ४ कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा र ३९ बिघा ८ कठ्ठामा लगाइएको अफिम नष्ट गरिएको विवरण प्रस्तुत गरिएको थियो ।
थाहा नगरपालिकाको समन्वयमा भएको कार्यक्रम मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले नागरिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै अरुको भविष्यमाथी खेलवाड गर्नेलाई बिचरा, कठै भन्ने छुट कसैलाई नभएको बताइन् । लागू औषध नियन्त्रणमा निर्मम भएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । विशेष गरी स्थानीय तहले लागूऔषध खेती र कारोबार रोक्न ध्यान दिनुपर्ने श्रेष्ठको आग्रह थियो । नेपाल सरकारले कानुन नबनाउन्जेल गाजा रोप्नु, खानु, ओसारपसार गर्नु सबै अबैध रहेको बताउदै यस्मा शंका नगर्न आग्रह गरिन् ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कडेलले जिल्ला प्रशासन कार्यालयबाट सम्पादक हुने कार्यको बारेमा प्रस्तुतीकरण दिएका थिए भने थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले पालिकाले गरेका कार्यसम्पादन र प्रगती प्रतिवेदन प्रस्तुत गरे ।
नागरिक सुनुवाइमा विशेषतः नागरिकको तर्फबाट थाहानगरमा ईलाका प्रशासन कार्यालय, नागरिकता र राष्ट्रिय परिचयपत्र शिविर र लागु औषध कारोबारी पक्राउमा प्रहरीको भुमिका सम्बन्धि प्रश्न गरेका थिए। कार्यक्रममा ससस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक सन्तोष बिक्रम शाह, राष्ट्रिय अनुसन्धान मकवानपुरका उप अनुसन्धान निर्देशक प्रज्वल खड्का, थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, राजनीतिक दलका प्रमुखहरु, जनप्रतिनिधि, कर्मचारी, टोल विकास संस्थाका प्रतिनिधिलगायत स्थानीयको उपस्थिति रहेको थियो। कार्यक्रम प्रमुख जिल्ला अधिकारी श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
प्रतिक्रिया दिनुहोस्