सप्तरत्न मानन्धर । कुनै बेला मकवानपुर दामनका एक प्रतिष्ठित व्यक्ति । जवानी छँदा उनी बहुप्रतिभावान थिए । बाइरोडको बाटो अर्थात त्रिभुवन राजपथ अन्तर्गत दामनका चिरपरिचित होटल व्यवसायी थिए उनी । उनी सफल व्यवसायी पनि हुन् । विक्रम संवत २०४५ देखि २०६२ सालसम्म उनी बाइरोडका हस्ती व्यवसायी थिए । त्यती बेला राम्रो आम्दानी पनि गरे । अहिले दामन थाहा नगरपालिका वडा नम्बर ४ मा पर्छ ।

दामनकै ऋषेश्वर प्राथमिक विद्यालयमा शिक्षण समेत गरेका सप्तरत्नले त्यही बेला दामन होटल शुरु गरेका थिए । व्यवसायिक मात्र नभई सामाजिक काममा दिलोज्यान दिने दामनका मानन्धर अहिले दुःख मा छन् । उनलाई जटिल स्वास्थ्य समस्या आइलागेपछि उपचारमै कमाएका सबै पैसा सकियो । ज्यानलाई बुढ्यौलीले छोयो, यहि बेला थरी-थरीका रोगले सप्तरत्नलाई थला नै पार्यो । उनीसंग अब परिवार, आफन्त र मनकारीहरुको मायाँ र सहयोग शिवाय केही छैन । छ त, शरिर भरी रोगै-रोग ।

सामाजिक र आर्थिक रुपले तगडा सप्तरत्न एका एक बिरामी परेपछि थाहा भयो, दुई वटै मृगौला फेल रहेछ । ललितपुरको पाटन अस्पतालमा उनको रोग पहिचान भएको हो । यतिले मात्र छाडेन उनलाई अलि अलि दुःख दिदै आएको ब्लड प्रेसरको सास्ती झन थपियो । सुगरको मात्रा पनि उत्तिकै बढ्यो । आजभन्दा भोलि झनझन पीडामा पर्दै गए । धन सम्पत्ती सबै सकिएपछि सप्तरत्नको परिवारले चन्दा उठाएर उनको उपचार गरिरहेका छन् । गएको चार वर्षदेखि नियमित डाइलाइसिस गरेर जीवन धानीरहेका छन् ।

‘बल्लबल्ल डाइलासिसको लागि पैसा जम्मा गर्यो जानेआउने पैसा समेत अभाव हुन्छ, मनकारीहरुको खोजी गर्छौ र जुटाउँछौं’–दुःखी अनुहारको ओठ खोल्दै सप्तरत्नले भने । उनको मृगौला प्रत्यारोपण भने भएको छैन। चरम आर्थिक संकटकाबीच उनको उचार हुँदै आएको छ ।

यति धेरै संघर्षका रहेका सप्तरत्नको उपचारका लागि थाहा नगरपालिका वडा नम्बर ३ को जनकल्याण माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले ५ जेठमा आर्थिक सहयोग गरेका छन् । उनलाई विद्यालयले पच्चीस हजार आठ सय दस रुपैयाँ संकलन गरेर दिएको छ । विद्यालयका प्रधानाध्यापक सानोभाइ कार्कीको नेतृत्वमा संकलित रकम विद्यालय परिसरमै बिरामी मानन्धरलाई हस्तान्तरण गरिएको छ ।

प्रधानाध्यापक कार्कीले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयले यस्ता मानवीय कार्यमा निरन्तर सहयोग गर्दै आएको बताए । साथै, उनले सम्पूर्ण विद्यार्थी र शिक्षकहरुको सक्रिय सहभागिताका लागि धन्यवाद व्यक्त गरे । विद्यालयको यस पहलले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै सहानुभूतिपूर्ण भावना विकासमा समेत योगदान पुग्ने प्रधानाध्यापक कार्कीको विश्वास छ । विद्यालयको सहयोगप्रति धन्यवाद दिदै मृगौला पीडित सप्तरत्नले भने–‘मलाई सहयोग गर्न चहानुहुने मनकारीहरुले मेरो मोबाईल नम्बर ९८४५०७०५४९ सम्पर्क गर्न सक्नुहुनेछ, म हजुरहरको सहयोगको आशमा छु ।’

पालिका प्रेस
थप जानकारी