मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–३ डोठे सुकौरा क्षेत्र र आसपासका क्षेत्रमा मानिसको बाक्लै बस्ती छ । सबैले घरघरमा गाई, भैसी, कुखुरा, बाख्रा पालेका छन् । घर नजिकै जंगल भएका कारण पनि घाँस दाउरा गर्न स्थानीयलाई कठिन छैन । बस्तुभाउ पालेपछि खेतीपातीका लागि मलजल र उत्पादनमा कुनै चिन्तै छैन । तर, खानेपानीका लागि भने निकै समस्या बेहोर्नुपरेको थियो । उनीहरुले खानेपानीका लागि गर्दै आएको संघर्ष अब टरेको छ । बर्षौदेखि खानेपानीका लागि भौतारीनुपर्ने बाध्यताको अन्त्य भएको छ । घरकै आगनमा खानेपानीको सुविधा पुगेको छ । घर छेवैमा खानेपानी आएपछि आफुहरु खुसी भएको डोठे सुकौरा खानेपानी उपभोक्ता समितिका सचिब प्रेम मुक्तान बताउँछन् ।

यहाँका एक दुई परिवारको मात्र यो समस्या होइन । ५ सय ५० परिवारले खानेपानीका लागि भोग्नुपरेको समस्या निकै कहाली लाग्दो थियो । पानी लिनका लागि पहिले घण्टौ लगाएर ५ किलोमिटर टाढासम्म पुग्नुपरेको सम्झना छ मुक्तानलाई । गाई, बस्तुलाई नजिकैको खोला, खोल्साको पानी खुवाएपनि खानेपानीका लागि भने ढाटा जानुपर्ने समस्या यहाँका सबै जसो परिवारको हो ।

अहिले भने घर नजिकैको धारामा पानी आएकोमा स्थानीय वासिन्दाहरु दंङ परेका छन् । एक घर एक धारा पुर्याउने लक्षका साथ काम भइरहेको छ । प्रत्येक घरमा खानेपानीका धारा निर्माण गर्ने लक्ष छ । अहिले भने परिक्षणका लागि भनेर धाराबाट पानी आइरहेको छ । यस क्षेत्रमा खानेपानी वितरणका लागि भनेर खानेपानी तथा सरसफाइ डिभिजन नम्बर–१ ले निकै लगानी पनि गरेको छ ।

२०७४ साल देखि यो खानेपानी योजना सुरु भएको हो । वि. सं. २०७८ साल देखि निरन्तर रुपमा खानेपानी डिभिजन कार्यालयको सहयोगमा खानेपानी योजना निर्माण भएको छ । चालु आर्थिक वर्षमा मात्र खानेपानी डिभिजन कार्यालयले ४४ लाख रुपैयाँ खर्च गरेको छ । बितेको आर्थिक वर्षमा पनि ३८ लाख रुपैयाँ खर्च गरेको थियो । सुरुवातीदेखि अहिले सम्म यस योजनाका लागि डेढ करोड रुपैयाँ भन्दा धेरै खर्च भएको उपभोक्ता समितिका पदाधिकारीहरु बताउँछन् ।

खानेपानी योजनाबाट डोठे, तल्लोसिद्धकाली र घट्टे दमार क्षेत्रमा खानेपानी वितरण गरिने खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका कोषाध्यक्ष इन्जिला मोक्तान बताउँछीन । यस क्षेत्रका ५ सय ५० घरधुरीका लागि भनेर दुइ वटा पानी टंकी निर्माण गरिएको छ । एउटा जमिनमुनी राखिएको पानटंकीमा ७५ हजार लिटर पानी अट्ने क्षमता रहेको छ । अर्को ओभरहेड पानी टंकी निर्माण गरिएको छ । यस टंकीमा २५ हजार लिटर पानी राख्न सक्ने क्षमता रहेको छ । डाँडागाउँलाई ओभरहेड पानी टंकीबाट खानेपानी वितरण गर्ने र तलको समथरमा रहेका वस्ती डोठे, तल्लोसिद्धकाली र घट्टेदमारमा जमिनमुनी गाडीएको पानी टंकीबाट वितरण गरिने उपभोक्ता समितिका सचिब मुक्तान बताउँछन् ।

अहिले सम्म यस क्षेत्रमा १५० वटा खानेपानीका धारा निर्माण भइसकेको र अरु धाराहरु निर्माण गर्ने चरणमा रहेका छन् । चालु आर्थिक वर्षमा यस खानेपानी योजनाको निर्माणको काम सक्नेगरी काम भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन नंम्बर–१ मकवानपुरका प्रमुख रविन श्रेष्ठले बताए । चालु आर्थिक वर्षमा यस खानेपानी योजनामा बिधुतीकरणको काम भएको, पाइपलाइन विस्तारको काम, पानीटंकी रंङरोगनको काम भएको उनले बताए । यहाँका घरघरमा धारा जडान गरेर सबैलाई पानी बितरण गर्ने योजनाका साथ काम भइरहेको छ । यहाँ पम्प जडान पनि गरिएको छ ।

पालिका प्रेस
थप जानकारी