मकवानपुरमा संघीय सरकारबाट आगामि आर्थिक वर्ष २०८२/०८३ का लागि समपूरक र विशेष अनुदान मार्फत सञ्चालन हुने २४ वटा योजनाका लागि बजेट विनियोजन भएको छ । स्थानीय तहबाट सिफारिस भई राष्ट्रिय योजना आयोगले १२ वटा विशेष र १२ वटा समपूरक योजना छनोट गरेको हो । छनोट भएका १५ नयाँ योजना छन् भने ९ वटा क्रमागत योजना छन् । विशेष अनुदानमा नयाँ र क्रमागत ६/६ वटा योजना छनोट भएका छन् भने समपूरक अनुदानबाट सञ्चालन हुने ९ वटा नयाँ ३ वटा मात्र क्रमागत योजना रहेका छन् । छनोट भएका अधिकांश योजना पूर्वाधार विकास अन्तर्गत छन् ।
आगामि आर्थिक वर्षका लागि समपूरक अनुदानबाट योजना सञ्चालनका लागि संघीय सरकारले मकवानपुरका स्थानीय तहका लागि १६ करोड ५९ लाख विनियोजन गरेको छ । यद्यपि प्रस्तावित योजनाहरुको कुल लागत ६५ करोड ४९ लाख रहेको राष्ट्रिय योजना आयोगले जनाएको छ । समपूरक अन्तर्गत इन्द्रसरोवर गाउँपालिकाको चौकीटोल महाचुनी हुँदै थाहा–९ को सिमाना जोड्ने सडकका लागि ७६ लाख विनियोजन भएको छ । एक आर्थिक वर्षमै सम्पन्न गर्ने योजना रहेको यस सडकको कुल लागत भने १ करोड २७ लाख रहेको छ । यो पालिकाले प्रस्ताव गरेको नयाँ योजना हो ।
थाहा नगरपालिकाले नयाँ योजनाको रुपमा सरस्वती बजार बुढीचौर सडक २ वर्षमा सम्पन्न गर्ने गरी समपूरक अनुदान प्रस्ताव गरेकोमा ४९ लाख रुपैया विनियोजन भएको छ । सो सडकको कुल लागत ३ करोड ८० लाख रहेको छ । कैलाश गाउँपालिकाको मनहरी खोला पक्की पुलदेखी नामटार कालिकाटार सडक (स्ल्याब ढलान तथा कालोपत्रे) योजनाको लागि १ करोड ६७ लाख रुपैयाँ समपूरक अनुदान विनियोजन भएको छ । पूरानै योजनालाई तीन वर्षभित्र सम्पन्न गर्ने यस क्रमागत योजनाको कुल लागत ३ करोड रहेको छ । कैलाशमै अर्को फास्टार सुकुभनज्याङ मोटरबाटो स्तरीकरण योजनाका लागि पनि समपूरक बजेट परेको छ । ९१ लाख रुपियाँ विनियोजन भएको यस नयाँ योजना २ वर्ष भित्र सम्पन्न गर्ने गाउँपालिकाको योजना छ । यस योजनाको कुल लागत ४ करोड रहेको छ ।
राक्सिराङ गाउँपालिकाको घोरकोटे अठारे कान्सिराङ धादिङ सडक स्तरीकरणका लागि ६८ लाख रुपैया बजेट विनियोजन भएको छ । २ वर्षमा सम्पन्न गर्ने यस योजनाको कुल लागत ३ करोड रहेको छ । यो राक्सिराङको नयाँ योजना हो । मनहरी गाउँपालिकामा लामिटार चकरी सडक खण्डका लागि ५२ लाख रुपैयाँ विनियोजन भएको छ । ४ करोड कुल लागत रहेको यो सडक मनहरी गाउँपालिकाले नयाँ योजनाको रुपमा राष्ट्रिय योजना आयोगमा पेश गरेको थियो । हेटौंडाको १३ नम्बर वडामा रहेको पदमपोखरी मुख्य सडक विस्तारका लागि ४ करोड ७५ लाख रुपैयाँ विनियोजन भएको छ । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको यस सडकको कुल लागत २० करोड रहेको छ । यो पालिकाको क्रमागत योजना हो ।
भिमफेदी गाउँपालिकाले ३ वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित योजना आयोगमा पेश गरेको रानीखोला धामीडाँडा रानीभनज्याङ सडक स्तरोन्नतीका लागि २ करोड ४२ लाख रुपैयाँ विनियोजन भएको छ । कुल ९ करोड २५ लाख लागत अनुमान रहेको यो सडक क्रमागत योजना हो । भीमफेदीकै महाभिर फाप्लाङ सडक स्तरोन्नतीका लागि भने ९९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको यस योजनाको कुल लागत ६ करोड ६६ लाख रुपैयाँ रहेको छ । मकवानपुरगढी गाउँपालिकाको कुर्ले बासपानी सुकौरा बुढिचौर सडकका लागि १ करोड ५० लाख समपूरक अनुदान विनियोजन गरिएको छ । एकै वर्षमा सम्पन्न गर्ने गरी प्रस्ताव गरिएको सो सडकको कुल लागत ३ करोड रहेको छ । यो पालिकाको नयाँ योजना हो । बकैया गाउँपालिकामा बकैया कृषि उद्योग ग्रामका लागि १ करोड विनियोजन भएको छ । २ करोड लागत अनुमान रहेको यस नयाँ योजना एक आर्थिक वर्षमै सम्पन्न गर्ने पालिकाको लक्ष्य रहेको छ । बागमती गाउँपालिकाको झुरझुरे कभर्डहल निर्माणका लागि ९० लाख विनियोजन भएको छ । पालिकाले नयाँ योजनाको रुपमा अघि सारेको यस योजनाको कुल लागत १ करोड ५१ लाख रुपैयाँ रहेको छ ।
समपूरक अनुदानको अनुपात फेरबदल कति प्रतिशत पालिकाको बजेट लगानी ?
मकवानपुरको १० पालिका मध्ये सबैभन्दा बढि अनुदान पाउने राक्सिराङ र कैलाश गाउँपालिका रहेको छ । कार्यविधि अनुसार ‘ख’ वर्गमा परेका यि दुई पालिकाले संघीय सरकारबाट समपुरक अनुदान ७०/७० प्रतिशत पाउनेछन् । समपूरक अनुदानबाट छनोट भएका योजनाका लागि पालिकाले जम्मा ३० प्रतिशत बजेट विनियोजन पुग्ने भएको छ । त्यस्तै बागमती, भीमफेदी र इन्द्रसरोवर गाउँपालिका ‘ग’ वर्गमा परेका छन् । यि पालिकाले समपूरक अनुदानबाट सञ्चालन हुने योजनाका लागि संघीय सरकारबाट ६० प्रतिशत अनुदान पाउने छन् ।
त्यसैगरी मकवानपुरगढी र बकैया गाउँपालिका ‘घ‘ वर्गमा परेका छन् । यि पालिकाले समपूरक अनुदानबाट सञ्चालन गर्ने योजनाहरुमा संघीय सरकारबाट ५०÷५० प्रतिशत अनुदान पाउनेछन् । जिल्लकै एकमात्र नगरपालिका थाहा र गाउँपालिका मध्येको मनहरी एउटै वर्गमा परेका छन् । आर्थिक सामाजिक विकासको वञ्चितकरण सूचचांङ्कमा थाहा भन्दा अघि रहेको मनहरी र थाहा ‘ङ’ वर्गमा परेका हुन् । यि दुई पालिकाले संघीय समपूरक अनुदान जम्मा ४० प्रतिशत मात्र पाउने भएका छन् । हेटौंडा उपमहानगरपालिकाले भने संघीय सरकारबाट जम्मा २० प्रतिशत अनुदान पाउने भएको छ । हेटौंडा ‘छ’ वर्गमा परेको छ । यसअघिको कार्यविधिको आधारमा थाहा र मनहरीको १०/१० प्रतिशत समपूरक अनुदान घट्ने भएको छ भने हेटौंडाको ३० प्रतिशत घट्ने भएको हो ।
यसअघिको कार्यविधि अनुसार सबै पालिकाहरुले संघीय समपूरक अनुदानबाट सञ्चालन हुने योजनाका लागि ५० प्रतिशत अनुदान पाउँदै आएका थिए । नयाँ कर्यविधि अनुसार मकवानपुरको ३ वटा पालिकाले पहिले भन्दा कम अनुदान पाउने भएका छन् भने २ वटा पालिकाको यथावत ५० प्रतिशत नै र बाँकी ५ वटा पालिकाको संघीय समपूरक अनुदानको आकार बढ्ने भएको छ ।
दश पालिकाको विशेष अनुदानः १२ योजना, १४ करोड ७३ लाख बजेट
मकवानपुरका दश पालिकाकाका लागि विशेष अनुदातर्फ १२ वटा योजना छनोट भएका छन् । मकवानपुरको राक्सिराङ र बागमती गाउँपालिकाले २÷२ वटा र बाँकी सबै पालिकाहरुले एक/एक वटा विशेष अनुदानतर्फको योजना छनोट भएको छ । इन्द्रसरोवर गाउँपालिकामा ज्यामिरे वस्सलादेवी सानुटार डाँडरे कुन्युटार तटबन्धन योजनाका लागि बजेट पाएको छ । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको यस योजनाले ६८ लाख विशेष अनुदान पाएको हो । कुल ३ करोड कुल लागत रहेको यो योजना पालिकाको नयाँ योजना हो । थाहा नगरपालिकाले क्रमागत योजनातर्फ क्षयरोगमुक्त अभियानका लागि कार्यक्रम २ करोड विशेष अनुदान पाएको छ । ३ वर्षे यो कार्यक्रमको कुल लागत ५ करोड रहेको छ ।
कैलाश गाउँपालिकाले चेपाङ तथा अति विपन्न समुदायका (मातृ तथा बालबालिका) लागि पोषण सुधार कार्यक्रमका लागि ७५ लाख विशेष अनुदान पाएको छ । एक वर्षमै सम्पन्न गर्ने लक्ष सहित नयाँ प्रस्ताव भएको यो कार्यक्रमको कुल लागत १ करोड रहेको छ । राक्सिराङ गाउँपालिकामा चेपाङ बालबालिकाको गुणस्तरीय प्रारम्भिक बाल विकास तथा आधारभूत शिक्षा सुधार कार्यक्रमका लागि १ करोड क्रमागत अनुदान पाएको छ । तीनवर्षमा सम्पन्न गरिने यो योजनाको कुल लागत ३ करोड रुपैयाँ रहेको छ । राक्सिराङकै अर्को विशेष अनुदानबाट सञ्चालन हुने चेपाङ जीवन स्तर सुधार तथा आयआर्जन कार्यक्रम योजनाको लागि ७५ लाख बजेट विनियोजन भएको छ । एक वर्ष भित्रै सम्पन्न गर्ने गरी नयाँ प्रस्ताव भएको यस योजनाको कुल लागत १ करोड रहेको छ ।
विशेष अनुदानबाट सञ्चालन हुने गरी मनहरी गाउँपालिकाको तल्लो मसिने खानेपानी योजनाका लागि ९० लाख विनियोजन भएको छ । २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको यस योजनाको कुल लागत २ करोड रहेको छ । यो पालिकाको नयाँ योजना हो । हेटौंडा उपमहानगरपालिकाले श्रमिक मावि हेटौंडा ४ को भवन निर्माणका लागि १ करोड ५० लाख विशेष अनुदान पाएको छ । तीन वर्षमा सम्पन्न गर्ने योजना रहेको यस क्रमागत योजनाको कुल लागत ४ करोड रुपैयाँ रहेको छ । भीमफेदी गाउँपालिकाको पोखरी प्राविको भवन निर्माणका लागि ५५ लाख विनियोजन भएको छ । ३ वर्षमा योजना सम्पन्न गर्ने लक्ष्य रहेको यस योजनाको कुल लागत ३ करोड १७ लाख रुपैयाँ रहेको छ । यो पालिकाको क्रमागत योजना हो ।
मकवानपुरगढी गाउँपालिकाको शारदा मावि भवन निर्माण क्रमागत अधुरो गढी– ५ का लागि २ करोड विनियोजन भएको छ । दुई वर्षमा निर्माण सम्ने योजना रहेको सो भवनको कुल लागत १ करोड ५० लाख रुपैयाँ लागत रहेको छ । बकैया गाउँपालिकाले पोषणमैत्री स्थानीय तह घोषणा गर्न विशेष अनुदान पाएको छ । एकवर्षभित्रै कार्यक्रम सक्ने योजना रहेको सो योजनाका लागि ७५ लाख रुपैयाँ विनियोजन भएको छ । यस यस नयाँ योजनाको कुल लागत १ करोड रहेको छ ।
बागमती गाउँपालिकाको गुन्द्रक खोला खानेपानी आयोजनाका लागि २ करोड २० लाख रुपैयाँ विनियोजन भएको छ । कुल ४ करोड ९९ लाख रुपैयाँ लागत अनुमान रहेको यो योजना पालिकाको क्रमागत योजना हो । त्यस्तै बागमती गाउँपालिकाले नै गुणस्तरीय शिक्षा एवं विद्यालय सूचना प्रविधि सहयोग परियोजनाका लागि १ करोड ६५ लाख विनियोजन भएको छ । एकवर्षभित्रै सम्पन्न गर्ने योजना रहेको यस नयाँ योजनाको कुल लागत ३ करोड रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्