
मकवानपुरको थाहा नगरपालिकाले जातीय विभेद् तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम गरेको छ । शिखरकोटको विकास घरमा भएको अन्तरक्रियामा सहभागीहरुले जात व्यवस्थाको अन्त्य गर्दै समतामूलक समाजको निर्माण बारेमा धाराणाहरु राखेका थिए । सहभागी दलित अगुवाहरुले उजुरीका रुपमा हेर्दा थाहा नगरमा जातीय विभेद नदेखिए पनि व्यक्ति र समुदाय पिच्छेका व्यवहारमा विभेद बढ्दै गएको उल्लेख गरे । उनीहरुले स्थानीय सरकार भौतिक विकास केन्द्रित मात्र नभई सामाजिक रूपान्तरण तर्फ केन्द्रित हुन सुझाव पेश गरे ।
थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले नेपालको संविधानको मर्मअनुसार जातीय विभेद अन्त्यमा अपेक्षित उपलब्धी हासिल नहुनुमा सबैको दोष रहेको सुनाए । दलित दलित बीचको विभेद अझै कायम छ । दोषारोपण गर्ने, कानुन रट्ने भन्दा संकीर्ण सोचको अन्त्य गरेको खण्डमा सबैखाले विभेद अन्त्य हुने उनको भनाइ थियो । दलित मुक्ति मोर्चाका प्रदेश नेता जमिन दियालीले दलित मुक्तिका लागि जनसंख्याको अनुपातमा सत्तामा दलितको प्रतिनिधित्व हुने सुनिश्चितता नै मुख्य मुद्दा भएको बताए । दियालीले भने–‘राज्य सत्ताभन्दा बाहिर बसेर छुवाछुतको युगीन दासत्व र अन्यायको विष पिएर बाँच्दै आएको समाजको असमान संरचनालाई दलितले बदल्नै सक्दैन।’ थप्छन्–दलितलाई सत्ताबाहिर राखेर समाजमा शासक वर्गले देखाउने भँडुवा विकासको नाराले दलितको जीवनस्तर परिवर्तन हुनै सक्दैन ।
नेकपा एमाले नगर अध्यक्ष सुरेन्द्रमान प्रधानले जातीय विभेदविरुद्ध थुप्रै कानुन निर्माण भएपनि कार्यान्वयनमा चुनौती देखिएको बताए । माओवादी नगर अध्यक्ष बिनोद कुमार लामाले कानुनले मात्रै सामाजिक कुरीति अन्त्य सम्भव नभएकोले समाज रुपान्तरणका लागि विभेदरहित सोचको विकास गर्न जरुरी रहेकोमा जोड दिए । अन्तरक्रियामा सहभागीहरुले कानुनमा जातीय विभेद अन्त्य भएपनि जनचेतनाको अभाव, गरिबी, दलित अधिकारकर्मीहरूकै निष्क्रियताका कारणले व्यवहारमा जातीय विभेद ज्युँका त्युँ रहेको बताएका थिए ।
नगर दलित संजालका संयोजक अर्जुन सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधान, थाहा ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी, फरक सोचका यादव रायमाझी, पालुङ क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्र, ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविन बाबू अर्याल, थाहानगरका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, पालुङ बहुउद्देश्यीय सहकारी का अध्यक्ष कृष्ण बहादुर बिष्ट, माओवादी जिल्ला सदस्य अरुण रायमाझी लगायत विभिन्न राजनैतिक दलका प्रतिनिधि, दलित जनप्रतिनिधिलगायतका उपस्थिति रहेको थियो । कार्यक्रम लाई केशव सुनारले संचालन गरेका थिए भने असोक खातीले स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्