मकवानपुरमा चालू आर्थिक वर्षको १० महिनामा चार सय ५८ जना किशोरी आमा बनेका छन् । जिल्लाको १० पालिकामा यसत धेरै किशोरीहरु आमा बनेका हुन् । जनस्वास्थ्य कार्यालय मकवानपुरले २२ जेठमा गरेको स्वास्थ्य अभिमुखीकरण कार्यक्रममा यो जानकारी दिइएको हो ।

कार्यालयले दिएको तथ्यांकअनुसार जिल्लाभर चार हजार एक सय २७ जना सुत्केरी भएकोमा ११ दशमलव शून्य ६ प्रतिशत २० वर्षमुनिका रहेका छन् । जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारका अनुसार गत आर्थिक वर्षमा १० दशमलव ९३ प्रतिशत किशोरी आमा बनेको तथ्यांक छ । तथ्यांक अनुसार गत आर्थिक वर्ष भन्दा चालू आर्थिक वर्षको १० महिनाको अवधिमा २० वर्ष भन्दा कम उमेरमा आमा बन्नेको संख्यामा वृद्धि भएको देखिएको छ । गत आवमा कुल चार हजार ४ सय ३० सुत्केरी भएका थिए । मकवानपुरमा रहेका १० वटा स्थानीय तहमध्ये सबैभन्दा बढी रक्सिराङमा कम उमेरमा आमा बन्नेको संख्या रहेको कार्यालय प्रमु्ख मिजारले बताए ।

कुल सुत्केरी भएकामध्ये २४ दशमलव ११ प्रतिशत २० वर्ष मुनिका रहेका छन् । बागमतीमा २३ दशमलव ०४ प्रतिशत, बकैयामा १७ दशमलव ११ प्रतिशत, भीमफेदीमा १७ दशमलव शून्य ७ प्रतिशत किशोरी आमा बनेका छन् । त्यस्तै, कैलाशमा १५ दशमलव ५६ प्रतिशत, थाहा नगर पालिकामा ११ दशमलव ५९ प्रतिशत २० वर्ष नपुग्दै आमा बनेका छन् । मकवानपुरको बालमैत्री घोषणा भएका स्थानीय तहमा पनि कम उमेरमा आमा बनेका छन् । मनहरी गाउँपालिकामा १६ दशमलव शून्य ५ प्रतिशत, मकवानपुरगढीमा २३ दशमलव १६ प्रतिशत र हेटौंडा उपमहानगर पालिकामा ८ प्रतिशत २० वर्षमुनिका आमा बनेका तथ्यांक रहेको छ ।

पालिका प्रेस
थप जानकारी