सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र नेपाल घोषणा गर्न मकवानपुरको थाहा नगरपालिकाले प्रतिवद्धता जनाएको छ । पालिकालाई सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र नेपाल घोषणा गर्न मानवसेवा आश्रमले सहकार्यका लागि प्रस्ताव पेश गरेको थियो । थाहानगरले आश्रमसँग सहकार्य गर्दै सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण घोषणा र कार्यान्वयनको लागि प्रतिवद्धता जनाएको हो ।

मानवसेवा आश्रमले मानवता प्रवद्र्धन महाअभियानमा गरेको योगदान प्रशंसनीय रहेको बताउँदै आगामी बजेटमा आश्रमको स्तरउन्नतिको निम्ति सहयोग गर्ने नगर प्रमुख विष्णु बहादुर विष्टले बताए । त्यस्तै, उनले थाहा नगरपालिका क्षेत्र र पुरै नेपाललाई नै सहायोगापेक्षी सडक मानवमुक्त बनाउने कार्यमा आश्रमसँग आवश्यक सहकार्य गर्न प्रतिवद्ध रहेको बताए ।

सडक मानवको उद्दार, संरक्षण र पुनःस्थापनामा संलग्न संघसंस्थासँग समन्वय र सहकार्य गरी वि.स. २०८२ सम्ममा नेपाललाई सडक मानवमुक्त बनाइनेछ भन्ने नेपाल सरकारको घोषणा कार्यान्वयन गर्न ऐक्यवद्धता रहेको पत्रमा उल्लेख छ । सोही समयमा पालिका र आश्रमबीच स्नेहमिलन कार्यक्रम भएको थियो ।

कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली, ३ नम्बर वडाध्यक्ष हिरेन्द्र कुमार रायमाझी, ७ नम्बर वडाध्यक्ष शिवराज थिङ, ८ का अध्यक्ष हेम लामा तथा अन्य जनप्रतिनिधि, कर्मचारीलगायत विभिन्न संघसंस्थाको प्रतिनिधिको सहभागिता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी