मकवानपुर थाहा नगरपालिकामा सञ्चालित छैठौं उप–मेयर कप डबल्स मेन्स ब्याडमिन्टन प्रतियोगिताको उपाधी रोशन गोपाली र मधुसुदन चौधरीको जोडीले चुमेको छ । ८ असारमा थाहा–४ स्थित क्याम्पाडाँडामा सञ्चालित फाइनल खेलमा साविक विजेता नरेन्द्र मोक्तान र देव अर्यालको जोडीलाई पराजित गर्दै उनीहरुले उपाधी चुमेका हुन् । उपाधिसँगै नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

साविक विजेताका रुपमा फाइनलमा भिडेका नरेन्द्र र देव उपविजेतामा सीमित भए । उनीहरुले नगद १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा सुनिल विष्ट उत्कृष्ट खेलाडी घोषित भए । विष्टले नगद रु ५ हजारसहित ट्रफी प्राप्त गरे।

सान्त्वना पुरस्कार सुनिल र नवीन तथा नरेन्द्र र इसाकको टिमले प्राप्त गरेका छन्। उनीहरुलाई नगद र मेडल प्रदान गरिएको थियो।

प्रतियोगिताका विजेता तथा उप विजेताहरुलाई पुरस्कार वितरण समारोहका प्रमुख अतिथि थाहा नगरपालिकाका नगर उप–प्रमुख भरत गोपालीले विजेता र अन्य विधागत खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । सो अवसरमा उपप्रमुख गोपालीले यस किसिमको प्रतियोगिताले स्थानीयस्तरमा खेलकुदको माध्यमबाट युवा सक्रियता बढाउने धारणा राख्दै खेलकुदमा नगरको लगानी हुनु युवा लक्षित भएको धारणा राखे ।

थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, शिक्षा शाखा प्रमुख माधव विक्रम मल्ल, पालुङ भ्यालीहार्ट एकेडेमीका प्रिन्सिपल सुरेन्द्रमान प्रधान, फरक सोचका संयोजक यादवजंग रायमाझी, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको संयोजन थाहा नगरपालिकाले गरेको हो भने शिखर क्लब र फरक सोच सहयोगी संस्थाका रुपमा रहेका थिए। प्रतियोगितामा प्रेस तथा सञ्चार साझेदारका रुपमा पालिका प्रेस, थाहापाटी, लालखबर, थाहा टाइम्स, टिम टिभी, बाइरोड र रेडियो दामन रहेका थिए।

सुुसान्त श्रेष्ठ (च्याङ) को संयोजकत्वमा भएको समापन समारोहमा खेल सञ्चालनमा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । कार्यक्रममा सहयोग गर्ने प्रायोजक तथा सहयोगीहरुलाई संयोजक श्रेष्ठले धन्यावद दिएका थिए ।