गाउँमा मान्छे नै कम बस्नछन् । खेतबारीको त कुरै छाडौं, विवाह, पूजालगायत कुनै सामाजिक काम गर्नसमेत कठिन छ । विदेशिने क्रम र बसाइँसराइबाट गाउँघरमा ज्येष्ठ नागरिकहरूमात्रै बाँकी छन् । अझै गाउँमा घरजग्गा हुनेहरू पनि आफ्नो जग्गा बाँझै राखी घरमा ताला लगाएर सुगम ठाउँमा बसोबास गरिरहेका छन् ।

मकवानपुरको विकट राक्सिराङ गाउँपालिको पनि हालत उस्ते छ । हरेक वर्ष करिब १ सय ८५ जनाभन्दा धेरै बसाइँ सरेर जाने गरेको पालिकाकै तथ्यांक छ । गाउँ खाली हुँदै जाने यो अवस्थालाई रोक्न पालिकाले अन्यत्रबाट बसाइँ सरी आउनेलाई ‘घर उपहार’ दिने योजना बनाएको छ । सबै जनता सहरमुखी हुनुका साथै सुविधा खोज्ने बहानामा सुगम क्षेत्रमा बसाइँ सरी जानेको संख्या बढ्दै गएपछि पालिकाले गाउँसभाबाट उक्त नीति बनाएको हो ।

पालिकाले आव २०८१।०८२ देखि पालिकामा बसाइँसराइ गरी आउनेलाई दुईकोठे घर निर्माण गरिदिने निर्णय गरेको भए पनि पहिलो वर्ष नतिजा शून्य रह्यो । हाल भने उक्त गाउँमा बसाइँसराइ गरी आउने धादिङका ४ जनाले जग्गा किनेर बसाइँसराइको प्रमाणसहित घरदाबी गरेकाले पालिकाको करिब ५ लाख रुपियाँको सहयोगमा हाल घर बनिरहेका छन् । सडकले छोएको कम्तीमा २ कट्ठा जग्गा, वडाको सिफारिस, बैंक खाता खोलेको प्रमाण आदि पेस गरेमा पालिकाले ‘सुन्दर समाज हाम्रो सार– बसाइँ सरी आउनेलाई घर उपहार’ कार्यक्रमअन्तर्गत घर बनाउन नगद अनुदान दिने गरेको छ ।

दुर्गम क्षेत्रमा जति विकास भए पनि सुविधा छैन भन्ने मानसिकताले पनि बसाइँसराइ हुने गरेको जिकिर गर्दै पालिका अध्यक्ष राजकुमार मल्लले भने–‘विगतमा सिटामोलसम्म नपाइने पालिकामा अस्पताल बनेको छ । वडामा स्वास्थ्यचौकी छन् । मावि तहसम्म पढाइ हुन्छ भने पालिकामा बाटोघाटो निर्माणका साथै खानेपानी सुविधा पुगेको छ । प्रायः सबै वडामा बिजुली पुगेको छ । तर, गाउँपालिका भन्नेबित्तिकै दुर्गम गाउँपालिका सोच्ने गलत परिपाटीका कारण बसाइँ सरेर आउनेको संख्या कम छ।’ उनले यसै कारण पालिकाले बसाइँ सरेर आउनेलाई घर उपहार दिने सम्बन्धमा बैठकहरू बसेर सूचनाको म्याद थप्दै आएको जानकारी पनि दिए ।

मकवानपुरको पश्चिमोत्तर साबिक ४ गाविस राक्सिराङ, काँकडा, खैराङ र सरिखेत मिलाई २०७३ फागुन २७ को सरकारी निर्णयले राक्सिराङ गाउँपालिका गठन भएको हो । राष्ट्रिय जनगणना, २०७८ अनुसार पालिकाको जनसंख्या २५ हजार ९ सय ९६ जना छ भने पालिकाले २०७५ मा गरेको घरधुरी सर्वेक्षणअनुसार पालिकामा ३० हजार ८ सय ३० जना थिए । यसको कुल क्षेत्रफल २२६.७ वर्गकिमी र जनघनत्व १३५.७२ व्यक्ति वर्गकिमी छ ।

९ वटा वडा रहेको पालिकामा तामाङ समुदाय ४६.२५ प्रतिशत, चेपाङ समुदाय ४३.९६ प्रतिशत, क्षेत्री समुदाय २.७५ प्रतिशत, दलित समुदाय २.३८ प्रतिशत, मगर समुदाय १.५० प्रतिशत, नेवार समुदाय ०.५६ प्रतिशत र ब्राह्मण समुदाय ०.०६ प्रतिशत बसोबास गर्छन् ।

पालिका प्रेस
थप जानकारी