मकवानपुर जिल्लाको पर्यटकीय क्षेत्र थाहा नगरपालिका स्थित सिमभनज्याङमा अर्किड ट्रेल (सुनाखरी पदमार्ग) को शुभारम्भ गरिएको छ । १७ भाद्रमा सिमभन्ज्याङमा एक कार्यक्रमको आयोजना गरी बागमती प्रदेशका सांसद तथा पूर्व सामाजिक विकास मन्त्री कुमारी मोक्तानले पदमार्गको शुभारम्भ गरिन् । सांसद मोक्तानले पदमार्गको नक्शा सार्वजनिक गर्दै पदमार्गको शुभारम्भ गरेकी हुन् ।

कार्यक्रमको प्रमुख अतिथी समेत रहेकी मोक्तानले पदमार्गले उत्तरी मकवानपुरको पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने बताइन् । उनले धार्मिक साँस्कृतिक, ऐतिहासिक कुराहरु जस्तै पदमार्गले पनि पर्यटन प्रवद्र्धनमा योगदान दिने चर्चा गरिन् । पदमार्गलाई सबैले मिलेर प्रचार प्रसारमा ल्याउनु पर्ने सांसद मोक्तानको भनाइ थियो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले थाहा नगरपालिका र आसपासको पालिकाहरुको पर्यटन प्रवद्र्धनमा सहयोग गर्दै आएकोमा यसलाई निरन्तरता दिने उल्लेख गरे । गत आर्थिक वर्षमा मात्र पनि पर्यटकीय क्षेत्रको डकुमेन्ट्री तयार गरेर सहयोग पु¥याएको प्रमुख घलानको भनाइ थियो ।

   

थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले नगरपालिकाले अन्य क्षेत्रमा जस्तै पर्यटन प्रवद्र्धनलाई विशेष प्राथमिकतामा राखेर काम गर्दै आएको बताए । विष्टले पर्यटन उद्योगकै रुपमा विकास गर्न आफू सँधै सकारात्मक रहेको बताए । यसका लागि संरचनागत विकास र अतिथी सत्कारलगायतको क्षेत्रमा पालिकाले लगानी गर्दै आएको उल्लेख गरे । नगरपालिकाले आन्तरिक पर्यटक भित्र्याउन विविध प्रचारात्मक काम गर्दै आएको उल्लेख गर्दै भारतीइ पर्यटक भित्र्याउन ‘भिमफेदीको पान्द्राङ–सिमभन्ज्याङ केवल कार’ को अवधारणा अघि सारेको सुनाए । नेपाल पर्यटन बोर्डका निर्देशक तथा गण्डकी प्रदेशका प्रमुख मणीराज लामिछानेले समग्र मकवानपुरको पर्यटन प्रवद्र्धनमा बोर्डले सहयोग गर्दै आएको बताए । ‘उत्तरी मकवानपुरको पर्यटन प्रवद्र्धनका सवालमा भुवन प्रकाश विष्टको पनि योगदानलाई भुल्नुहुँदैन’ लामिछानेले भने–‘सन् २०१४ मा नेपालकै पहिलो पर्यटकीय गाउँका रुपमा चित्लाङलाई घोषणा गरेर यस क्षेत्रको प्रवद्र्धनलाई पर्यटन बोर्डले सहयोग पु¥याउँदै आएको छ ।’ उनले भुवन प्रकाश विष्ट मकवानपुरको स्थानीय विकास अधिकारी हुँदा पर्यटन प्रवद्र्धनमा धेरै कामको सुरुवात भएको बताउँदै दामन–सिमभनज्याङबाट लालीगुराँस पदमार्ग र सुनगाभा (अर्किड)पदमार्गको त्यतीबेलै परिकल्पना गरी घोषणा गरिएको उल्लेख गरे ।

कार्यक्रममा पर्यटन विज्ञ हुम गुरुङले पर्यटकका लागि रैथाने परिकारबाट आकर्षित गर्न सकिने बताए । म्याप हाउसका पवन शाक्यले धेरै मिहिनत गरेर ‘अर्किड ट्रेल’को परिकल्पना गरी तयार पारेको उल्लेख गरे । उनले १० वर्षको मिहिनतले यो ट्रेलको म्यापिङ गरिएको बताए । वनस्पती वित्र डाक्टर भक्त बहादुर रास्कोटीले समग्र थाहानगर ‘अर्किड’को राजधानी जस्तै भएकोले यसबाटै पर्यटन प्रवद्र्धन हुने बताए । उनले आफ्नो प्रस्तुतीकरणमा ‘अर्किड’ अवलोकन गर्न र अनुसन्धान गर्नका लागि यो क्षेत्र निकै महत्वपूर्ण रहेको बताए । उनले जैविक विविधतायुक्त यस क्षेत्रमा अर्किड ट्रेलले थप पर्यटन प्रवद्र्धनमा मद्दत गर्ने बताए ।

कार्यक्रममा ऋषेश्वर क्षेत्र विकास समितिका अध्यक्ष बिनोद कुमार लामाले पर्यटन प्रवद्र्धनमा जति धार्मिक, साँस्कृतिक क्षेत्रको महत्व हुन्छ त्यती नै प्राकिृतिक र वनस्पतीय दृष्टिकोणले महत्व हुने बताए । उनले अर्किड ट्रेलका कारण यहाँको पर्यटन प्रवद्र्धनमा आकर्षण थपिने विश्वास व्यक्त गरे । राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङले सौराह र थाहाको पर्यटन प्रवद्र्धनको सेतु राक्सिराङ गाउँपालिका हुन तयार रहेको प्रतिवद्धता व्यक्त गर्दै अन्तरपालिका सहकार्यको अपील गरे । कैलाश गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लले तामाङ र चेपाङ संस्कृतिलाई जोड्दै पर्यटन प्रवद्र्धन गर्न कैलाश गाउँपालिका तयार रहेको बताए । मल्लले अब अर्किड ट्रेलले पालिका–पालिकाबीचको सहकार्यलाई सघाउ पुग्ने धारणा राखे ।

एभरेष्ट युवा विकास क्लबका अध्यक्ष शिवकुमार खत्रीको सभाध्यक्षतमा भएको कार्यक्रममा पर्यटन विज्ञ विजय प्रधान, थाहा–३ का वडाध्यक्ष हिरेन्द्रकुमार रायमाझी, ४ नम्बर वडाध्यक्ष नारायण लामा, पूर्व वडाध्यक्ष दिपक सि लामा, थाहा नगरपालिका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, पर्यटन शाखा प्रमुख सुरजकुमार भुजेल, सूचना प्रविधि अधिकृत भगिरथ कार्की, थाहानगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शम्भुसिंह कार्की, नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारी, फरकसोचका संयोजक यादवजंग रायमाझी, अरुण रायमाझी, ऋषेश्वर सामुदायिक वनका अध्यक्ष बिनोद लामालगायतकाको उपस्थिती रहेको थियो ।

 

पालिका प्रेस
थप जानकारी