जेनजी आन्दोलनबाट क्षति पुगेका संरचनामा पुगेको क्षतिको लगत संकलन गर्ने र क्षति नपुगेका संरचनाहरुबाट असोज १ गतेदेखि सेवा दिन थाल्ने पोखरा महानगरपालिकाले निर्णय गरेको छ । ५२ औं कार्यपालिका बैठकले आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाहरुमा भएको क्षतिको एकीन विवरण संकलन गर्ने र उचित ठाउँको व्यवस्थापन गरी सेवा दिने निर्णय गरेको हो ।
कार्यपालिकाको शनिबार बसेको भर्चुअल बैठकले असोज १ गतेबाट सरकारी विद्यालय पनि सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता तथा वडा नम्बर २५ का अध्यक्ष मोति तिमिल्सिनाले जानकारी दिए । कास्की समाजले आयोजना गरेको कार्यक्रममा सहभागी हुन युएई पुगेका मेयर धनराज आचार्य अझै उतै रहेको र भर्चुअल रुपमा बैठक बसेर सेवा प्रवाहलाई सुचारु गर्ने निर्णय गरिएको प्रवक्ता तिमिल्सिनाले जानकारी दिए ।
‘असोज १ गतेभित्र महानगरको प्रशासनिक भवन, महाशाखा, वडा कार्यालयहरुमा पुगेको क्षति, कागजात र दस्तावेजको अवस्था र बाँकी रहेका संरचनाको विवरण संकलन गर्ने निर्णय भएको छ,’ प्रवक्ता तिमिल्सिनाले भने, ‘उपयुक्त ठाउँ पहिचान गरेर सेवा प्रवाह सुचारु गर्ने पनि निर्णय भएको हो ।’ जेनजीको आन्दोलनका क्रममा भदौ २४ गते कास्कीमा सबैभन्दा पहिले पोखरा महानगरपालिकाको कार्यालयबाट सरकारी संरचना तोडफोड तथा आगजनीको शृंखला सुरु भएको थियो । पोखरा सभागृहमा जम्मा भएका जेनजी आन्दोलनकर्मी कार्यालय बाहिर पुगेपछि नाराबाजी गर्दै तोडफोड सुरु गरेका थिए ।
पोखरामा लगाइएको कर्फ्यूका बाबजुद अवस्था नियन्त्रण बाहिर गएपछि सुरक्षाकर्मी पाखा लागेका थिए । प्रदर्शनकारीले महानगरको कार्यालय जलाएर ध्वस्त बनाएका छन् । अधिकांश वडाहरुसमेत तोडफोड र आगजनी भएका छन् । आन्दोलनमा घुसपैठ गरी सरकारी संरचना ध्वस्त पारिएकोप्रति महानगरको कार्यपालिका बैठकले दु:ख व्यक्त गर्दै दोषीमाथि कारबाहीको मागसमेत गरेको छ ।
पोखरा नयाँबजारमा निर्माण सम्पन्न भएको वाणिज्य बैंकको भवनमा महानगरको कार्यालय प्रयोगका लागि उपलब्ध गराउन यसअघि आग्रह गर्ने कार्यपालिका बैठकमा छलफल भएको थियो । त्यो विषयमा पनि सम्बन्धित निकायसँग छलफल अगाडि बढाउने तयारी भइरहेको छ ।











































पालिका प्रेस 











प्रतिक्रिया दिनुहोस्