बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि प्रदेशअन्तर्गत्का सबै सरकारी कार्यालयका भवनको बीमा गर्ने तयारी थालेको छ । गत वर्षको जेन–जी आन्दोलनका क्रममा सरकारी संर चनामा ठूलो क्षति पुगेपछि भविष्यमा यस्ता जोखिमबाट हुने आर्थिक भार कम गर्न सरकारले सबै सरकारी भवनको बिमा गर्न बजेटसमेत विनियोजन गरेको हो ।

बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाकाअनुसार चालु आर्थिक वर्षदेखि प्रदेश सरकारका सम्पूर्ण सरकारी कार्यालयका भवनको बीमा गर्ने योजना अघि बढाइएको छ । सरकारी भवनको बीकमा गर्ने निर्णय गतवर्षको जेन–जी आन्दोलनका क्रममा भएको ठूलो भौतिक क्षतिपछि गरिएको हो । २०८२ भदौ २४ गते हेटौँडासहित मकवानपुर, चितवन, काठमाडौं, ललितपुर र भक्तपुरमा प्रदेश सरकारका कार्यालय तथा संरचनामा तोडफोड र आगजनी भएको थियो । आन्दोलनका क्रममा प्रदेश सरकारका २६ वटा कार्यालयका ६० वटा भवनमा क्षति पुगेको थियो ।

प्रदेश सरकारको तथ्याड्ढअनुसार भौतिक पूर्वाधारतर्फ मात्रै ५७ करोड ४० लाख रुपैयाँ बराबरको क्षति भएको थियो । सवारीसाधन र जिन्सी सामग्रीसमेत जोड्दा कूल क्षति करिब १ अर्ब १० करोड रुपैयाँ पुगेको थियो । क्षतिको मूल्याड्ढनलगत्तै वागमती प्रदेश सरकारले अन्य प्रदेश र संघीय सरकारभन्दा अगाडि नै मर्मत तथा पुनर्निर्माणको काम शुरु गरेको मन्त्रालयका सचिव मरहठ्ठाले बताउनुभयो । मर्मत सम्भव नभएका दुबै संरचनाको पुनर्निर्माणका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन गरिएको छ । शहरी विकास तथा भवन कार्यालय मकवानपुरको भवन पुरानै स्थानमा पुनर्निर्माण गर्ने तयारी छ भने प्रदेशसभा भवन हेटौँडा–१६ र १७ मा निर्माण हुने वागमती सरकारको प्रशासनिक भवन निर्माणस्थलमा बनाउने योजना छ ।

दुबै संरचनाका लागि ७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको सचिव मरहठ्ठाले जानकारी दिएका छन् । उनले भने, ‘गतवर्षको घटनाबाट सिक्दै हामीले यसवर्षदेखि सम्पूर्ण सरकारी कार्यालयका भवनहरूको बिमा गर्ने भनेर बजेट विनियोजन गरेका छौँ ।’ ध्वस्त संरचना हटाएर नयाँ निर्माण गर्न मात्रै करिब १ अर्ब ३० करोड रुपैयाँ खर्च हुने अनुमानसहितको प्रतिवेदन प्रदेश सरकारसमक्ष पेस भएको वागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका महाशाखा प्रमुख डिभिजनल इन्जिनियर भूपेन्द्रकुमार यादवले बताए ।

पालिका प्रेस
थप जानकारी