रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अभिभावक गुमाएर संरक्षणविहीन बनेका १०९ जना बालबालिकाको विवरण हालसम्म प्राप्त भएको बागमती प्रदेश सरकारले जनाएको छ । बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङका अनुसार बाढी प्रभावित बालबालिकालाई आवाससहित कक्षा १२ सम्म निःशुल्क शिक्षा उपलब्ध गराउने प्रदेश सरकारको निर्णय अनुसार तथ्यांक संकलन भइरहेको छ ।

प्रदेश मन्त्रिपरिषद् बैठकले रसुवा, नुवाकोट, धादिङ र चितवनमा बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको शिक्षा, आवास तथा संरक्षणको जिम्मेवारी प्रदेश सरकारले लिने निर्णय गरेको थियो । निर्णय कार्यान्वयनका लागि मन्त्री तामाङले नुवाकोटको लिखु गाउँपालिका–४ स्थित क्षेत्रपाल माध्यमिक विद्यालय, चौघडाको स्थलगत निरीक्षण गरी सरोकार वालासँग छलफल गरेका छन् । विद्यालय परिसरमा रहेको १० कोठे भवन मर्मत गरी अभिभावकविहीन बालबालिकालाई आवासीय रूपमा राख्ने तयारी गरिएको उनले बताए ।

प्रदेश सरकारले बालबालिकाको आवास, शिक्षा, खानपान तथा आवश्यक हेरचाहको व्यवस्था गर्ने गरी तयारी अघि बढाएको मन्त्री तामाङले जानकारी दिए । प्राप्त विवरणका आधारमा पुनःस्थापनाको प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ । त्यसैगरी, बाढीका कारण परिवारविहीन तथा असहाय बनेका ज्येष्ठ नागरिकलाई नुवाकोटको लिखु गाउँपालिका–५ स्थित कभर्डहलमा आवाससहित पुनःस्थापनाको व्यवस्था मिलाइएको मन्त्री तामाङले बताए । बाढीबाट अभिभावक गुमाएका बालबालिकाको भविष्य सुरक्षित गर्ने उद्देश्यले प्रदेश सरकारले आवासीय शिक्षा कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको हो ।

पालिका प्रेस
थप जानकारी