मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको भवन तथा सवारी साधनमा ठूलो क्षति भएको छ । जेनजी समूहको प्रदर्शनका क्रममा प्रदर्शनकारीले २४ भाद्रमा गरेको तोडफोड र आगजनीले पालिकामा ठूलो क्षति भएको जनाइएको छ । प्रदर्शनकारीले हेटौंडा उपमहानगरपालिका परिसरमा रहेका साना ठूला आधा दर्जन भवन र दुई दर्जनभन्दा धेरै सवारी साधनमा आगजनी गरेर क्षति पुयाएका छन् ।
उपमहानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले आन्दोलनको क्रममा उपमहानगर पालिकाको भवनसहित ११ वटा गाडी र २१ वटा मोटरसाइकल जलेर नष्ट भएको जानकारी दिए। ‘जेनजीको आन्दोलनको पहिलो दिन भदौ २३ गतेको आन्दोलनमा केही भएको थिएन । दोस्रो दिनको आन्दोलनको सुरुवातमा पनि जेनजीका युवाहरु उपमहानगर अगाडी आएर भाषण गरेर आन्दोलनको सुरुवात गरेका थिए’, गौतमले भने, ‘दोस्रो दिनको आन्दोलनमा पनि ती युवाहरुले उपमहानगरपालिकामा तोडफोड गर्नु हुँदैन भनेर फर्किएका थिए ।’

तर जेनजी भन्दा बाहिरका केही युवाहरु आएर दोस्रो पटकमा तोडफोड सुरु गर्दा पनि जेनजीका युवाहरुले फर्काएर पठाएका थिए। तेस्रो पटकको आक्रमणमा भने ती व्यक्तिहरुले ढुंगामुढा र आगजनी गरेका हुन् । जेनजी प्रदर्शनीमा अराजक समूहले उपमहानगरका महत्वपूर्ण कागजात जलाएर खरानी बनाइदिएपछि कसरी सञ्चालन गर्ने चुनौती थपिदै गएको छ। यद्यपी अहिले उपमहानगरपालिकाका सरसफाइकर्मीले परिसर वरपर सरसफाइका काम गरिरहेका छन् । प्रमुख प्रशासकीय अधिकृत गौतमका अनुसार उपमहानगर पालिकाको राजश्व महाशाखा, न्यायिक समितिको पूर्वाधार, स्वास्थ्य शाखा र सामाजिक विकास महाशाखा पूर्ण रुपमा ध्वस्त भएको छ ।

उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँको कार्यकक्षमा समेत तोडफोड गर्नुका साथै आवश्यक कागजात, कम्प्युटर टेलिफोन फर्निचर तोडफोड गरिएको छ। गौतमका अनुसार उपमहानगरपालिको १९ वटा वडामध्ये ६ वटा वडा पूर्ण रुपमा क्षति पुगेको छ । उपमहानगरपालिकाका ३, ४, १०, ११, १५ र १९ नम्बर वडा पूर्ण रुपमा क्षति भएका छन् भने १३ नम्बर वडामा तोडफोड भएको छ । उनका अनुसार शनिबार हेटौंडा उपमहानगर पालिकाका सामाजिक विकास महाशाखा प्रमुख डा. भीमप्रसाद तिमल्सिनाको नेतृत्वमा क्षतिको विवरण संकलन गर्न समिति बनेको छ ।

उपमहानगरको भवनमा आगो लगाउने र तोडफोड गर्नेहरुको सामाजिक सज्जालमा भिडियोहरु सुरक्षित रहेको भन्दै कारवाहीको दायरमा सम्बन्धित निकायमा पठाउने समेत तयारी भईर हेको उनले बताए । चाँडो भन्दा चाँडो उपमहानगरवासीहरुलाई भवनवाटै सेवा दिनका लागि तयारी गरिरहेको उनले जानकारी दिए । तत्कालका लागि आवश्यक कम्युटर र फर्निचरको व्यवस्था गरेर सोमबारदेखि सेवा सुरु गर्न लागिपरेको प्रमुख प्रशासकीय अधिकृत गौतमले बताए । जेनजी पुस्ताहरुले सुशासनको पक्षमा आन्दोलन गरेको भन्दै उपमहानगरपालिकाबाट दिने सेवा प्रवाहमा समेत सुधार गर्दै जाने प्रतिवद्धता समेत उनले व्यक्त गरेका छन् ।
























































प्रतिक्रिया दिनुहोस्