मकवानपुरको थाहा नगरपालिकामा बसाई सरी आउने भन्दा जाने परिवारको संख्या धेरै देखिएको छ । नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षामा यस्तो तथ्याङ्क देखिएको हो । १२ वटा वडा रहेको थाहा नगरपालिकामा २०८१ साउन देखि २०८२ असार मसान्तसम्ममा जम्मा १६ परिवार बसाई सरी आएका छन् भने त्यसोको साँढे तीन गुणा ५८ परिवार नगरपालिकाको विभिन्न वडाहरु छोडेर बसाई सरी गएका छन् ।

साविकको गाविसहरु अनुसारको तथ्याङ्क हेर्ने हो भने पालुङबाट सबै भन्दा बढि बसाई सरी गएको देखिन्छ भने तुलनात्मक रुपमा टिष्टुङ छोड्नेको संख्या कम छ । गत आर्थिक वर्षमा सबैभन्दा बढि वडा नम्बर २ बाट १३ परिवार बसाइ सरेर अन्यत्र गएका छन् । तथ्याङ्क वडा नम्बर १० बाट एउटा परिवार पनि बसाइ सरी गएका छैनन् । बसाइ सरी गएका परिवारको विवरण हेर्ने हो भने अधिकांश शहरी क्षेत्रतर्फ आकर्षित भएको देखिन्छ ।

थाहा नगरपालिकाको १ नम्बर वडामा एउटा परिवार बसाइ सरी आएका छन् भने ५ परिवार बसाई सरी गएका छन् । वडा नम्बर २ मा १३ परिवार बाहिरँदा एउटा परिवार मात्र बसाई सरी आएका छन् । वडा नम्बर ३ मा आउने र जानेको संख्या बराबर देखिएको छ । ३ नम्बर वडामा आउने र जाने परिवार ५/५ रहेको छ । वडा नम्बर ४ मा जाने भन्दा आउनेको संख्या बढि छ । ५ परिवार आउँदा ३ परिवार बसाई सरी गएका छन् । ५ नम्बर वडामा एउटा परिवार पनि बसाई सरी आएका छैनन् भने ३ परिवार गएको एमआइएस सेवा इकाई थाहा नगरपालिकाका एमआइएस अपरेटर रुपक कार्कीले जानकारी दिए ।

वडा नम्बर ६ मा ३ परिवार बसाई सरी आउँदा ५परिजार बसाई सरी गएका छन् । ७ नम्बर वडामा पाँच परिवार बसाई सरी गएका छन् भने ८ नम्बर वडाबाट ४ परिवारले वडा छोडेका छन् । यि दुवै वडामा कुनै पनि परिवार बसाई सरी आएका छैनन् । वडा नम्बर ९ मा १ परिवार बसाई सरी आउँदा ९ परिवार बाहिरएका छन भने १० नम्बर वडाको बसाई सराईको अवस्था स्थिर देखिएको छ । यस वडामा बसाई सराई गरी आउने जानेको संख्या शुन्य रहेको छ । ११ नम्बर वडाबाट ३÷३ परिवार बाहिरिएका छन् । यि दुवै वडामा कोही पनि बसाई सरी आएका छैनन् ।

यो तथ्याङ्क अघिल्लो आर्थिक वर्षहरुको तुलनामा आउने घट्दो र जानेको संख्या बढ्दो अवस्था रहेको छ ।

एमआइएस सेवा इकाइका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा ७८८ जनाको जन्म दर्ता भएको छ । नगरपालिका भरीमा सोही वर्षमा ३६५ को मृत्यू दर्ता भएको छ । ४०४ जोडीको विवाह दर्ता भएको छ । ६७ जोडीको सम्बन्ध विच्छेद भएको सेवा इकाइले जानकारी दिएको छ । १० नम्बर वडामा सबैभन्दा कम ४३ जनाको जन्म भएको छ भने सबैभन्दा बढी वडा नम्बर ७ मा १०७ जनाको जन्म भएको छ । वडा नम्बर ८ मा सबैभन्दा कम २५ जनाको मृत्यू दर्ता भएको छ भने सबैभन्दा बढि २ नम्बर वडामा ४३ जनाको मृत्यूदर्ता भएको सेवा इकाइका फिल्ड सहायक अच्युत विडारीले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी