मनहरी गाउँपालिकाले प्लाष्टिकबाट निर्माण भएका फूलमाला बिक्री बितरण नगर्न व्यवसायीहरुलाई आग्रह गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले सूचना जारी गर्दै स्थानीय फूलबाट उत्पादन भएका मालाहरुको प्रयोग गरी चाडबाड मनाउन आग्रह गरेका हुन् ।
उनले कानून विपरित उत्पादन भएका प्लाष्टिजन्य फूलमाला तथा गुच्छाहरु भन्दा पनि स्थानीय उत्पादन सयपत्री, मखमली, गोदावरी लगायत फूलबाट उत्पादन भएका माला र गुच्छाहरु प्रयोग गर्न आग्रह गरेका हुन् । मकवानपुरको मनहरी गाउँपालिकाले फूलमाला तथा गुच्छाहरुको बिक्री बितरणका सम्बन्धमा बजार अनुगमन समेत गर्ने जनाएको छ ।
गाउँपालिकाका उपभोक्ता हित शाखा प्रमुख शैलेस बास्कोटाले मकवानपुर उद्योग बाणिज्य संघसहित व्यवसायी र सरोकारवालाहरुसँग छलफल गरी बजार अनुगमनलाई ध्यान दिइने बताए । खासगरी चाडबाडका बेला मनहरी बजारमा व्यापारको अनुमति प्राप्त गरेकाबाहेकका सामग्रीहरुको पनि ब्यापार गर्ने, आफ्ना पसलहरुअघि खाट र टेबुलहरु राखेर तिहारका बेला भाइमसला र रंगीचंगी सामग्रीहरु बेच्ने लगायतका क्रियाकलापहरु हुँदै आएका छन् ।
त्यसैगरी मुख्य बजार क्षेत्रमा त्रिपालहरु टाँगेर बजारको स्वरुप नै बिगारेर व्यापारीहरुले व्यापार गर्दै आइरहेका छन् । नियमनकारी निकायहरु मौन बस्दा यस्ता दृष्यहरु मनहरी बजारमा नियमित देखिने गरेको छ ।











































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्