मकवानपुरको तीन पालिकाले नजिकिदै गरेको दिपावलीलाई मध्येनजर गरेर प्लाष्टिकको फूल बिक्रिमा प्रतिबन्ध लगाएको छ । जिल्लाको थाहा नगरपालिका, हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाले प्लाष्टिकको फूल बिक्री, वितरण तथा उत्पादनमा रोक लगाएको हो ।

तीनवटै पालिकाले स्थानीय फूल उत्पादनलाई प्रोत्साहित गर्न नगर क्षेत्रभित्र प्लाष्टिकको फूल बिक्री, वितरण तथा प्रयोगमा रोक लगाइएको सूचना मार्फत जानकारी गराएका छन् । प्राकृतिक फूलमालाको प्रयोग गर्न आग्रह गर्दै उपमहानगरपालिकाले सूचनाविपरीत प्लाष्टिकको फूलमालाको बिक्री वितरण तथा प्रयोग गरेको पाइएमा नियमनको दायरामा ल्याइने जनाएको छ ।

स्थानीय उत्पादन तथा प्राकृतिक स्वदेशी फूलको उत्पादन एवं प्रवद्र्धन गर्नु सबैको दायित्व भएको थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले बताए । थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले प्लाष्टिकको फूलको प्रयोगले वातावरणमा क्षति हुने र माटोमा नकुहिने भएकाले वातावारणीय सौन्दर्यमा समेत नकारात्मक असर पर्ने भएकाले स्वदेशी फूलको मात्र प्रयोग गर्न आग्रह गरेको बताए ।

अघिल्ला वर्षहरुमा पनि मकवानपुरको थाहा नगरपालिका, हेटौंडा उपमहानगरपालिकालगायतका स्थानीय तहले तिहारमा प्लाष्टिकको प्रयोगमा रोक लगाउँदै आएका थिए ।

पालिका प्रेस
थप जानकारी