बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले मकवानपुरको मनहरी गाउँपालिका–९, ज्यामिरेकी एकल महिला मिठुमाया सुनारलाई घर बनाइदिएका छन् । मुख्यमन्त्री भएपछि पाउने सेवा–सुविधाबापतको रकममा पैसा थप गरेर मुख्यमन्त्री बानियाँले सुनारलाई शौचालयसहितको भूकम्पप्रतिरोधी तीनकोठे घर बनाएर आइतबार हस्तान्तरणसमेत गरेका छन् ।
मुख्यमन्त्री बानियाँको व्यक्तिगत पहलमा निर्माण गरिएको उक्त घर हस्तान्तरणसँगै मिठुमाया र उनका ५ जना छोराछोरी अब आफ्नै घरमा बसोबास गर्न पाउने भएका छन्। दसैँअघि नै निर्माण सम्पन्न गरेर घर हस्तान्तरण गर्ने योजना रहे पनि निर्माण कार्यमा केही ढिलाइ हुँदा तिहारको अवसर पारेर २ कार्तिकमा घर हस्तान्तरण गरिएको हो । घर निर्माण समितिका संयोजक एवं कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौलाले जानकारी दिए । उनका अनुसार भूकम्पप्रतिरोधी तीनकोठे घर, शौचालय, धारा, बिजुली बत्ती सबै गरेर चार लाख ६५ हजार रुपैयाँ खर्च भएको छ ।

सरकारी लागत अनुमानअनुसार करिब सात लाख लागतको भए पनि स्थानीयको सहयोग र विभिन्न सामग्रीमा सहुलियत पाएकाले चार लाख ६५ हजारमा निर्माण सम्पन्न भएको संयोजक बर्तौलाको भनाइ छ । घर हस्तान्तरण गरेसँगै मुख्यमन्त्री बानियाँले मिठुमायालाई जीविकोपार्जनका लागि बाख्रापालन गर्न भन्दै नगद २५ हजार रुपैयाँसमेत हस्तान्तरण गरेका छन् ।
यस्तै उक्त अवसरमा प्रदेश सरकारका गरिबी निवारण तथा सहकारी मन्त्री विनु रायमाझीले मिठुमायालाई भान्साको लागि आवश्यक पर्ने सामानसहित खाद्यान्नसमेत सहयोग गरेकी छिन् । उनले ती सामग्री हस्तान्तरण गर्दै मुख्यमन्त्रीले गरेको पुन्यको काममा सहभागी हुन पाउँदा आफूलाई निकै खुसी लागेको बताइन् । प्रदेश सरकार प्रदेशभित्रका नागरिकको खुसीका लागि आवश्यक काम गर्न सधैँ तत्पर रहेको प्रतिबद्धता व्यक्त गरिन् ।
मुख्यमन्त्री बानियाँले गत २० साउनमा मुख्यमन्त्री पदभार ग्रहण गर्दै आफूले प्रदेश सरकारबाट पाउने तलब, भत्ता र अन्य सेवासुविधा कटौती गरी निर्वाचन क्षेत्रका अति विपन्न परिवारका लागि घर निर्माणमा खर्च गर्ने घोषणा गरेका थिए । उक्त प्रतिबद्धताअनुसार मुख्यमन्त्री बानियाँले अरू दुई परिवारका लागि पनि घर निर्माण गरिरहेका छन्।
बानियाँको निर्वाचन क्षेत्र राक्सीराङ गाउँपालिका–१ इन्द्रुङका सुमनसिं चेपाङका लागि निर्माण भइरहेको घर अन्तिम चरणमा पुगेको र उक्त घर कात्तिक महिनामै हस्तान्तरण गरिने लक्ष्य राखिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । यस्तै, मुख्यमन्त्री बानियाँकै व्यक्तिगत खर्चमा कैलाश गाउँपालिका– ४ धुस्राङका ५० वर्षीय लालकुमार प्रजा चेपाङ परिवारका लागि नयाँ घर निर्माण भइरहेको छ । दुवै घर निर्माणका लागि उनले गत १६ भदौमा घर निर्माण समितिलाई पहिलो किस्ताबापत दुई–दुई लाख रुपैयाँ हस्तान्तरण गरिसकेका छन् ।















































पालिका प्रेस 











प्रतिक्रिया दिनुहोस्