बाँफिकोट गाउँपालिकाले अगुवा किसानलाई पेन्सन दिने गरी निवेदन संकलन गरिरहेको छ । चालु आर्थिक वर्षबाट अगुवा किसानलाई पेन्सन दिने नीतिअनुसार सबै वडामा निवेदन संकलनको कामलाई तीव्रता दिइएको हो ।

किसानलाई पेन्सन दिन भनेर बनाइएको कार्यविधि गत असारमै गाउँसभाबाट पारित भएको थियो । मापदण्ड र प्रक्रिया पुगेका ज्येष्ठ किसानले गत साउन महिनादेखि लागू हुने गरी पेन्सन पाउनेछन् । मापदण्डभित्र परेका किसानले पेन्सनका लागि वडाको सिफारिससहित आवश्यक कागजात र बैंक खाता गाउँपालिकालाई बुझाउनुपर्नेछ । त्यसपछि गाउँपालिकाले हरेक महिना ५ सय रुपैयाँका दरले ज्येष्ठ किसानलाई पेन्सन प्रदान गर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानबहादुर खड्काले जानकारी दिए । दलिततर्फ ५५ देखि ६० वर्ष र अन्यतर्फ ६० देखि ७० वर्षसम्मका किसानलाई पेन्सन दिइने उनले बताए । गाउँपालिकाले एक घरबाट एक जनालाई, अरू कुनै पनि सरकारी सुविधा नलिएको र निरन्तर कृषि गरिरहेका किसानले पेन्सन पाउने गरी कार्यविधि बनाएको छ । किसान पेन्सनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । अरू विभिन्न खाले पेसामा रहेकाहरूको पेसापछि पनि पेन्सन र निवृत्त हुने तर आजीवन कृषि पेसा गरिरहेका किसानले केही नपाउने भएपछि पेन्सन दिन थालिएको गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले बताए ।

‘श्रम गर्ने समय सकिएपछि पनि कतिको पेन्सन आउने र कतिलाई हातमुख जोड्न नै समस्या हुने अवस्था अन्त्यको परिकल्पनासहित यो योजना ल्याइएको हो,’ उनले भने, ‘सुरुवातमा थोरै रकमबाट सुरु गरिएको यो योजनालाई बिस्तारै बढाउने योजना पनि छ ।’ पहिलो पटक परीक्षणका रूपमा योजना कार्यान्वयन गर्ने र त्यसपछि यसको रकम बढाएर लैजाने अवधारणा बनाइसकिएको उनले जानकारी दिए । अहिले पनि गाउँमा परम्परागत तवरले धेरै पशुबस्तु पाल्ने, धेरै खेती गर्ने किसान छन् । गाउँपालिकामा सबैभन्दा धेरै रहेका किसान वर्गको सम्मान र प्रेरणा प्रदानका लागि कार्यक्रम सुरु गरिएको उनले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी