बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले थाहा नगरपालिकालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने बताएका छन् । थाहा–९ स्थित चित्लाङ ‘भ्यू टावर’ को ९ पुसमा भएको उद्घाटन तथा हस्तान्तरण समारोहमा मुख्यमन्त्री बानियाँले यस्तो बताएका हुन् । ‘भ्यू टावर निर्माण मात्र नभई चित्लाङ र सिंगो थाहा नगरपालिकालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न प्रदेश सरकार तयार छ’–मुख्यमन्त्री बानियाँले भने–‘चित्लाङ भ्यू टावरले थाहानगरको पर्यटन विकासमा एउटा इट्टा भने पक्कै थपेको छ ।’ पर्यटकीय नगरीको पहिचान बनाउन सफल भएको थाहा नगरपालिकाको पर्यटन विकासमा विगतदेखि नै प्रदेश सरकारले सहयोग पु¥याउँदै आएको चर्चा गर्दै उनले पर्यटन क्षेत्रका पूर्वाधारहरु निर्माण गर्न सरकारले बजेट विनियोजन गर्दै आएको बताए ।

बागमती प्रदेश सरकारले प्रदेश सरकारले ‘चित्लाङ हिलस्टेसन प्याकेज कार्यक्रमअन्तर्गत ‘भ्यू टावर’ निर्माण गरेको हो । उद्घाटनसँगै ‘भ्यू टावर’ थाहा नगरपालिकालाई हस्तान्तरण पनि गरिएको छ । कार्यक्रममा संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले प्रदेश सरकारले आन्तरिक एव बाह्य पर्यटकहरु आकर्षित गर्न पर्यटन क्षेत्रमा लगानी गर्दै आएको बताए । थाहा नगरपालिकाका मेयर विष्णु विष्टले चित्लाङ ‘भ्यू टावर’ले थाहा नगरपालिकामा आन्तरिक एवं बाह्य पर्यटकहरु आकर्षित हुने विश्वास व्यक्त गरे ।

‘भ्यू टावर’ सञ्चालन तथा व्यवस्थापनका लागि उक्त प्रदेश सरकारले थाहा नगरपालिकालाई गत सातामात्र सम्झौता गरेको थियो । सम्झौताअनुसार थाहा नगरपालिकाले उक्त ‘भ्यू टावर’ सञ्चालन, उपयोग तथा व्यवस्थापनका लागि आफै वा अन्य संघसंस्था वा समितिलाई ठेक्कामा लगाउन सक्ने व्यवस्था छ । यसरी सञ्चालन गरिएको टावरबाट भएको आम्दानीको ३० प्रतिशत रकम बागमती प्रदेश सरकारका राजस्व खातामा अर्धवार्षिक रुपमा जम्मा गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

आम्दानीको ७० प्रतिशत रकम भने थाहा नगरपालिकाको हुने सम्झौता भएको छ । १० बुँदे सम्झौतामा पर्यटन प्रवद्र्धनबाहेकको उद्देश्यमा सो संरचना प्रयोग गर्न नपाइने स्पष्ट पारिएको छ । चित्लाङ ‘भ्यू टावर’को मर्मतसंभार गर्नुपर्ने अवस्था भएमा थाहा नगरपालिका समेतको प्रविधिको सहभागितामा तयार गरिएको लागत अनुमानबमोजिम एक पटकका लागि बागमती प्रदेशको पर्यटन मन्त्रालयबाट गराउने सम्झौतामा उल्लेख छ ।

चित्लाङमा ‘भ्यू टावर’सँगै क्रियसन हल, शौचालय, रिटेनिङ वाल, गेट, गार्ड हाउस तथा अन्य सहायक संरचनाहरू निर्माण गरिएको छ । ‘भ्यू टावर’ निर्माण पाँच करोड २७ लाख ४७ हजार ८ सय ५२ रुपैयाँमा गरिएको हो । यससँगै प्रदेश सरकारले २०७६ सालदेखि हालसम्म १३ जिल्लामध्ये मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, चितवन, रामेछाप, सिन्धुली, धादिङ र दोलखा गरी ९ जिल्लामा ११ वटा ‘भ्यू टावर’ निर्माण गरिसकेको छ । यी ‘भ्यू टावर’हरू निर्माणमा प्रदेश सरकारले ३२ करोड ८४ लाख तीन हजार तीन सय ३९ रुपैयाँ लगानी गरेको छ । ११ वटा ‘भ्यू टावर’मध्ये ५ वटा संचालनमा आइसकेको पर्यटन विकास आयोजना हेटौंडाका प्रमुख रोशन श्रीवास्तवले बताए ।

पालिका प्रेस
थप जानकारी