थाहा नगरपालिकामा मुख्य कार्यालय रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शेयर पुँजी ९ करोड ९५ लाख पुगेको छ । १ अर्ब २७ करोड सम्पत्ती रहेको संस्थाको बचत संकलन ८८ करोड ४४ लाख र ऋण प्रवाह १ अर्ब ८ करोड रहेको पुगेको छ । ९ पुसमा आयोजित सहकारीको २६औँ वार्षिक साधारणसभामा यस्तो जानकारी गराइएको हो ।

संस्थामा आर्थिक वर्ष २०८१/०८२ सम्म ६ हजार ८ सय ४० जना शेयर सदस्य र ४ हजार ६५ जना लघुवित्त सदस्य गरी कुल १० हजार ९ सय ५ जना वित्तीय कारोबार गर्ने सदस्य पुगेका छन् । सहकारीले थाहा–४ को मुख्य कार्यालय बाहेक हेटौंडा र बज्रबाराही सेवा केन्द्र सञ्चालन गरिरहेको छ । थाहा नगरपालिकाको चित्लाङ र काठमाडौंको कालिमाटीमा रहेको सरल बहुउद्देश्यीय सहकारीसँग एकीकरण गरी काठमाडौंमा समेत पालुङ बहुउद्देश्यीयको सेवा केन्द्र सञ्चालन गर्ने प्रक्रिया अघि बढाइएको अध्यक्ष कृष्ण बहादुर विष्टको वार्षिक प्रतिवेदनमा उल्लेख छ । अन्तर्गत अन्तर–सहकारी सम्बन्ध विस्तार गर्दै थाहा शीत भण्डार सञ्चालन गर्ने योजना पनि प्रतिवेदनमा उल्लेख छ ।

संस्थाका संस्थापक अध्यक्ष बिष्णुहरि ढकालको प्रमुख आतिथ्यता भएको सभामा संस्थाको आर्थिक प्रगति, भावी योजना र सामाजिक उत्तरदायित्वका कार्यक्रम सार्वजनिक गरिएको थियो । संस्थाले शेयर सदस्य संख्या ८ प्रतिशतले वृद्धि गर्ने, न्यूनतम शेयर रकम १० हजार कायम गर्ने र जिल्लाका सबै स्थानीय तहमा सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । त्यस्तै बचत संकलन १५ प्रतिशतले वृद्धि गरी १ अर्ब पु¥याउने लक्ष्य तय गरिएको छ ।

तरलता व्यवस्थापनतर्फ बाह्य कर्जाको भुक्तानीलाई प्राथमिकता दिँदै सदस्यहरूको बचत भुक्तानीमा असर नपर्ने गरी उच्च तरलता कायम गरिएको अध्यक्ष बिष्टले जानकारी दिए । कर्जा लगानीको लक्ष्य १००.०८ प्रतिशत हासिल भई १ अर्ब ८ करोड ९१ लाख पुगेको छ भने आगामी आर्थिक वर्षमा कर्जा लगानी १ अर्ब १५ करोड पु¥याउने लक्ष्य लिइएको छ । संस्थाको खुद नाफा चालु आर्थिक वर्षमा ४८.२३ प्रतिशतले संकुचन भई १ करोड ६३ लाखमा सीमित भए पनि आगामी आर्थिक वर्ष २०८२/०८३ मा २९५ प्रतिशतले वृद्धि गरी ४ करोड ८२ लाख पु¥याउने लक्ष्य राखिएको छ ।

साधारणसभामा लघुवित्त कार्यक्रम, रासायनिक मल वितरण, शीत भण्डार, तरकारी बजारीकरण, कृषि प्रविधि तथा हाईटेक नर्सरी, सहकारी पसललगायत कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गरिएको थियो । लेखा सुपरिवेक्षण समितिका संयोजक कालीचरण बस्नेतले समितिको प्रतिवेदन प्रस्तुत गरे । साधारणसभाको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न विधामा सदस्यहरूलाई सम्मान गरिएको छ ।

७५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिक सम्मान अन्तर्गत लोककुमारी खत्री, चन्द्रबहादुर गोले, पम्फा कुमारी थापा, चन्द्रकुमारी कार्की, रामशरण बिष्ट, पूर्णबहादुर श्रेष्ठ, विष्णुमाया बलामी, बद्री केसी, तोकबहादुर गोपाली, कान्छी खत्री, लालमाया श्रेष्ठ, गणेशबहादुर शिवभक्ती, मिठाइ श्रेष्ठ, रामकृष्ण अधिकारी र धुर्वबहादुर अधिकारीलाई सम्मानसहित न्यानो कपडा वितरण गरिएको छ।

सुत्केरी सदस्य सम्मान अन्तर्गत प्रज्ञा ढकाल, रती पाण्डे, सुस्मा पाण्डे, गायत्री केसी, सत्यदेवी स्याङ्तान र निर्मला बिष्ट सम्मानित भएका छन् । वि.सं. २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने सदस्यका छोराछोरीलाई पनि सम्मान गरिएको छ । सामुदायिक विद्यालयतर्फ दर्शन कार्की (ज्ञानोदय माध्यमिक विद्यालय, काठमाडौं) ले ३.९६ जिपिए र अभिषेक जैशवाल (बज्रबाराही माध्यमिक विद्यालय) ले ३.७५ जिपिए प्राप्त गरी सम्मान पाए । संस्थागत विद्यालयतर्फ अरविन कुमार कार्की (हिमालयन बोर्डिङ स्कुल) ले ३.८४ जिपिए र प्रनिशा केसी (हिमालयन बोर्डिङ स्कुल) ले ३.७४ जिपिए प्राप्त गरी उत्कृष्ट विद्यार्थी सम्मान प्राप्त गरे । उत्कृष्ट कारोबारतर्फ कर्जा विधामा थाहा–२ का मनिराज ढकाल र थाहा–१२ का भिमसेन स्याङ्तान तथा उत्कृष्ट बचततर्फ कैलाश–६ तितुङका पासाङ लामालाई सम्मान गरिएको छ ।

यसैबीच ९ पुसमै परेको संस्थाको वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेका छन्। कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष तथा बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका कोषाध्यक्ष पुरुषोत्तम कार्की, पूर्वअध्यक्षहरू बिमल कुमार ढकाल र उमेश प्रसाद ढकाल, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टलगायत पूर्व पदाधिकारी र सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

पालिका प्रेस
थप जानकारी