मकवानपुरको राक्सीराङ गाउँपालिकाले गाउँसभाको उन्नाइसौँ (हिउँदे) अधिवेशन आह्वान गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ (२) बमोजिम गाउँपालिकाले २३ पुस बिहान ११ बजे गाउँपालिकाको कार्यालय, चैनपुरको सभाहलमा अधिवेशन आव्हान गरेको हो ।

अधिवेशनको प्रारम्भिक सत्रसँगै राक्सिराङ गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरिने पालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँबाट उद्घाटन हुने कार्यक्रम तय गरिएको उनले बताए । अधिवेशनमा चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा, आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजन ऐन, बजेट तथा कार्यक्रम संशोधन, न्यायिक समितिको प्रतिवेदन, आगामी आर्थिक वर्षसम्मका लागि गाउँपालिकाको कर तथा शुल्क नियमित गर्ने विषय र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकजस्ता महत्वपूर्ण एजेन्डामा छलफल हुने जनाइएको छ ।

गाउँपालिकाले अधिवेशनको निर्धारित मिति, समय र स्थानमा अनिवार्य उपस्थितिका लागि गाउँसभा सदस्यलाई अनुरोध गरेको छ ।

पालिका प्रेस
थप जानकारी