जिल्ला समन्वय समिति मकवानपुर लामो समयदेखि निमित्तको जिल्ला समन्वय अधिकारीको भरमा रहेको छ । जिल्ला समन्वय अधिकारी शान्ति विश्वकर्मा ११ कार्तिकमा रौतहटको गुजरा नगरपालिकामा सरुवा भएसँगै कार्यालय निमित्तको भरमा सञ्चालन भइरहेको छ ।

उनको स्थानमा कमला घिमिरे सरुवा भएर आए पनि उनी सरुवा हुँदा विदेश भ्रमणमा थिइन् । घिमिरे नेपाल फर्किएपछि समेत उनले कार्यालय सम्हाल्न नपाउँदै पुनः अन्यत्र सरुवा भएपछि रिक्तता लम्बिएको हो । घिमिरेको अन्यत्र सरुवा भएपछि विष्णु प्रसाद पौडेलको नाम सरुवा सूचीमा परेको थियो । ८ पुसमा सरुवा भएका उनी अझै हाजिर नभएको जिल्ला समन्वय समिति मकवानपुरले जनाएको छ ।

जिल्ला समन्वय समितिकी सूचना अधिकारी इन्दिरा पौडेलका अनुसार जिल्ला समन्वय अधिकारी नहुँदा आर्थिक प्रशासन सञ्चालन हुन सकेको छैन् । “हाकिम नहुँदा अधिकार प्रयोग गर्न नसक्ने अवस्था आएको छ, आर्थिक कामहरू रोकिने गरेका छन्,” उनले भनिन्। अधिकारी कहिले आउने भन्ने विषयमा कुनै सूचना नआएकाले समन्वय अन्यौलमै रहेको उनको भनाइ छ।

जिल्ला समन्वय प्रमुख ललित घलानले भने करिब एक हप्ता अघि इमेलमार्फत पत्र प्राप्त भएको जानकारी दिए। “पहिलो कार्यालयको काम सकेर आउने कुरा छ। तर उहाँ नआउँदा आर्थिक प्रशासनका काम ठप्प छन् । अब त आइपुग्नुपर्ने हो,” उनले भने।

पालिका प्रेस
थप जानकारी